दुर्घटना हुँदा दुईको मृत्यु, दुई जना घाईते


शिवहरि प्रसाद भट्टराई, राजविराज । पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको छुट्टाछुट्टै स्थानमा सवारी दुर्घटना हुँदा दुईको मृत्यु भएको छ भने अन्य दुई जना घाईते भएका छन् । जिल्लाको हनुमाननगर कंकालनी नगरपालिकामा बुधवार स्कारपियाको ठक्करबाट उदयपुर जिल्लाको भागलपुर टप्पु वेलका–२ बस्ने ४५ वर्षीय विरबहादुर मगरको घटनास्थलमै मृत्यु भएको हो ।
पूर्वबाट पश्चिमतर्फ गईरहेको बा १६ च ३८११ स्कारपियोले बाटो क्रश गर्ने क्रममा मगरलाई ठक्कर दिदाँ घटना स्थलमै उनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय भारदहका सई नागेश्वर यादवले बताए । ठक्कर दिने स्कारपियो र चालक भारदहकै नियन्त्रणमा रहेको सई यादवले जानकारी दिए ।
त्यस्तै, जिल्लाको सुरुङगा नगरपालिका–४ मा मंगलवार राति दुर्घटना हुँदा मोटरसाईकल चालकको मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्गमै पश्चिमतर्फ गईरहेको स१प ५२९० नम्वरको ट्याक्टरलाई स८प ३२३० नम्बरको मोटरसाईकलले पछाडीबाट ठक्कर दिदाँ दुर्घटना भएको हो ।
दुर्घटनामा परि मोटरसाईकल चालक उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–८ बस्ने ३० बर्षिय राजेश चौधरीको मृत्यु भएको छ ।
ठक्करबाट गम्भिर भएका चौधरीलाई उपचारको लागी लाहान अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको इलाका प्रहरी कार्यालय कडोरबोनाले जानकारी दिएका छन् । ट्याक्टर र चालक प्रहरीकै नियन्त्रणमा रहेको जनाइएको छ ।
यता, जिल्लाकै कृष्णशवरन गाउँपालिका–१ मा मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुँदा दुई जना घाईते भएका छन् । राजमार्गमै पूर्वतर्फ गईरहेको स ४ प ७८८३ नम्वरको मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुँदा जिल्लाको कन्चनरुप नगरपालिका–५ बस्ने बरुण महतो र सोहि नगरपालिका वडा नम्बर–९ बस्ने बिन्देश्वर यादब घाईते भएका छन् ।
घाईते दुवै जनाको उपचार नोबेल अस्पताल बिराटनगरमा भईरहेको इलाका प्रहरी कार्यालय महुलीले जनाएको छ ।