भिठामोड–जलेश्वर जनकपुर सडक हिलाम्य



लक्ष्मी कुमार साह, महोत्तरी ।
महोत्तरी जिल्लामा पर्ने भिठामोड जलेश्वर जनकपुर सडक मंगलबार एका बिहानैदेखि परेको वर्षाले हिलाम्य भएको छ ।

मंगलबार बिहानै देखि परेको वर्षाका कारण जिल्लाका भिठामोड जलेश्वर जनकपुर, जलेश्वर–मटिहानी लगायतका सडक हिलाम्य भएका हुन् । लामो समयदेखि धुलाम्य अवस्थामा रहेको भिठामोड जलेश्वर जनकपुर सडक यति बेला हिलाम्य भएको छ ।

सडक निर्माण गर्ने ठेक्का पाएका ठेकेदारहरूले सुस्त गतिमा कामलाई अघि बढाउँदा अहिले उक्त सडक हिलाम्य भएकाले सडकमा आवतजावत गर्ने यात्रुलाई पहिले भन्दा बढी समस्या खेप्नुपरिहेको अवस्था आएको हो ।
मंगलबार एक्कासि भारी वर्षाले भिठामोड जलेश्वर जनकपुर सडक, जलेश्वर मटिहानी सडकलगायतमा पानी जमेको छ । पानी जमेपछि सो सडकमा चल्ने सवारी साधन, पैदल यात्रीहरुलाई निकै समस्या परेको छ भने कतै कतै त वृहत मात्रामा पानी जमेकाले सवारी साधन चल्नै नसक्ने अवस्था समेत रहेको स्थानीय रंजित राउतले बताए । वर्षाका कारण हिलो र पानी जमेर सडकमा बस, जिप, ट्यांकर, ट्रक, टेम्पो, अटोरिक्सा र मोटरसाइकल समेत चलाउने नसकिने अवस्था छ ।
यहाँका व्यस्त सडकमा ओहोरदोहोर गरिरहने गाडीले छ्यापेको हिलोले बाटो हिंड्नै नसक्ने भएको छ । पसलअगाडिको सडकमा जमेको पानी र हिलोले आफूहरूको व्यापार चौपट बनाएको पिपराका व्यापारीहरू बताउँछन् ।
अलिकति वर्षा भएको अवस्थामा भिठामोड जलेश्वर जनकपुर सडक नै हिलाम्मे भएको अवस्था देख्दा वर्षायाम सुरु भएपछि कस्तो स्थिति सिर्जना होला भनी अहिलेदेखि नै जलेश्वर जनकपुरवासी समेत चिन्तित रहेका छन् । वर्षायामअघि नै जे गरेर भए पनि हिलो र सडकमा जम्ने पानीबाट सृजित समस्याको समाधान खोज्न सम्बन्धित निकायसँग उनीहरु माँग गरेका छन् ।
सडकमा यत्रतत्र भएको खाल्डाखुल्डी र जमेको पानीले दुर्घटनाको जोखिम बढेको छ । यहाँको व्यस्त सडकमा गाडीको चाप अत्यधिक रहेको र वर्षापछि हिलामे हुँदा मानिस, साइकल, रिक्सा, मोटरसाइकललगायत सबै बीच सडकमा नै हिंड्ने गरेकाले दुर्घटनाको जोखिम उत्तिकै बढेको जिल्ला ट्राफिक कार्यालय महोत्तरीका पोष राज पाण्डेले बताए ।
वर्षाका कारण सडक पटक पटक अवरुद्ध हुने गरेकाले पानी परेका दिन जिल्लाका कुनै पनि सडकमा बस नचलाउन जनकपुर अञ्चल बस व्यवसायी संघले यसअघि नै पत्राचार गरिसकेको छ । जिल्लाभित्र एक मात्र पक्की बाटो जलेश्वर–बर्दिबास भने सञ्चालनमा छ ।