कुम्लो बोकेर खटिए कर्मचारी,एकै दिन करोड भुक्तानी


मोतीराम तिमल्सिना,काभ्रे ।

सोमबार दिउसो हस्याङ्गफस्याङ्ग गर्दै कर्मचारीहरु निर्वाचन सम्वन्धी सामाग्रीको कुम्लो कसिरहेका थिए ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय धुलिखेलले विकट गाउँपालिका खानिखोला र महाभारत, चौरीदेउरालीमा खटिएका कर्मचारीहरुलाई निर्वाचन सम्वन्धि सामाग्री बुझाएको छ ।

‘मंगलबार र बुधबार विहानसम्म सबै कर्मचारीहरु केन्द्रमा पुगिसक्छन’–मुख्य निर्वाचन अधिकृत मेदिनीप्रसाद पौड्यालले भने–‘आज एक दिनमा मात्रै कर्मचारीहरुको नियुक्तिका लागि एक करोड भुक्तानी भएको छ ।’ खानीखोलाका १० र महाभारत गाउँपालिकाका १२ वटा मतदान केन्द्रको मतपत्र समेत सोमबार नै बुझाईएको छ ।

मुख्य निर्वाचन अधिकृतकको कार्यालय मार्फत मतदाताहरुले मतदानका लागि प्रयोग गर्ने मतपत्र, कर्मचारीहरुको नियुक्ति र कर्मचारीहरुको पारिश्रमीक भुक्तानी भएको छ भने जिल्ला निर्वाचन कार्यालयले मतदानका लागि आवश्यक पर्ने सियो देखि बाकस, मतदाताहरुको परिचयपत्र समेत बुझाएको छ । मतपेटिका सहितको सामाग्री जिम्मा लिएका कर्मचारीहरु सोमबार नै कार्यस्थल खटिएका छन् ।

सुरक्षाकर्मीको टोली पनि कर्मचारीसँगै खटिएको छ । यस अघि नै शशस्त्रको टोली जिल्लाका सबै निर्वाचन केन्द्रहरुमा पुगेको छ । नेपाली सेनाको टोली पनि निर्वाचन केन्द्रको सुरक्षाका लागि खटिसकेको छ ।
कर्मचारीहरुको टोलीले २७ गते बुधबार देखि सबै मतदान केन्द्रमा पुगेर चार दिनसम्म मतदाता परिचय पत्र वितरण गर्नेछन् भने ३१ गते मतदान सम्पन्न गराई निर्वाचन सम्वन्धीको कार्य सम्पन्न गरी निर्वाचन अधिकृतहरुलाई मतपेटिका बुझाएर फर्कनेछन् ।

‘पाँच दिनसम्मको भत्ता र आवतजावतको लागि रकम भुक्तानी गरिएको छ’–मुख्य निर्वाचन अधिकृत पौड्यालले भने–‘सबै कर्मचारीहरुले जिम्मेवारी पुर्वक काम सम्पन्न गर्न दुई दिन सम्म संचालन गरीएको तालिममा जानकारी गराईएको छ ।’ कर्मचारीहरुको तालिम सोमबार मात्रै सकिएको छ ।

जिल्लामा निर्वाचनका लागि मात्रै ३ करोड २९ लाख रकम खर्च हुनेछ । त्यस अघि कार्यालय ब्यवस्थापनका लागि ७ लाख रुप्ैया प्रपत भएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । मतगणनाका लागि भने छुट्टै रकम खर्च हुने कार्यालयले जानकारी दिएको छ ।

कर्मचारीहरुका लागि ३ करोड भन्दा धेरै खर्च हुनेछ भने निर्वाचन केन्द्रको ब्यवस्थान र निर्वाचन अधिकृतले नियुक्ति गर्ने स्वयंसेवकका लागि छुट्टै रकम खर्च हुनेछ । सबै जिम्मेवारी निर्वाचन अधिकृतको हो । कार्यालयले अधिकृतहरुलाई नै सबै रकम भपाई गरिएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले प्रत्येक निर्वाचन केन्द्रमा मतदाता भएको भन्दा पाँच प्रतिशत थप मतपत्र पठाउने छ । काभ्रे पलाञ्चोक जिल्लाका लागि २ लाख ३० हजार मतदाताका लागि कार्यालयले २ लाख ४९ हजार मतपत्र पठाएको छ । मतपत्रको थानमा विग्रिएका मतपत्रहरुलाई बदर भनेर सहि छाप र केरमेट गरी प्याकिङ्ग गरिएको छ ।