फ्रान्समा राष्ट्रपति पदका लागि अन्तिम चरणको मतदान


म्याक्रो र ली पेनको भाग्य निर्धारण गर्ने

पेरिस (एजेन्सी)
फ्रान्समा राष्ट्रपति पदको चुनाव लागि अन्तिम चरणको मतदान भइरहेको छ। राष्ट्रपति पदका दावेदार दुबै उम्मेदवारले राष्ट्रिय पुनर्जागरणको प्रतिबद्धता व्यक्त गरिरहेका छन्। तर त्यसका लागि दुवैले फरकफरक मार्ग अगाडि सारेका छन्।

पहिलो चरणका विजेता उदारवादी मध्यमार्गी इम्यानुएल म्याक्रो र दक्षिण पन्थी राष्ट्रवादी मरिन ली पेनले फ्रान्सेली राजनीतिलाई नयाँ मोड दिएका छन्। उनीहरूले लामो समयदेखि राजनीतिमा हावी रहेका समाजवादी तथा रुढीवादी रिपब्लिकन पार्टीलाई ठूलो झट्का दिएका छन्।

राष्ट्रपति पदको दौडमा अन्तिम चरणमा पुगेका दुबै उम्मेदवार बीच कयौं मुद्दामा गहिरो मतभेद रहेको छ। जसमा युरोपेली संघ र आप्रवासीको मुद्दा पनि समावेश छ।

आइतबार सम्पन्न भइरहेको मतदानले फ्रान्सलाई नयाँ राष्ट्रपति दिनेछ।
म्याक्रोले युरोपेली संघको ५ हजारको संख्यामा सीमा रक्षक बल गठन गर्ने नीति सारेका छन्।उनले फ्रान्सेली राष्ट्रियता हासिल गर्नका लागि फ्रान्सेली भाषाको ज्ञान अनिवार्य गर्ने नारा पनि दिएका छन्। उनले फ्रान्सको धर्म निरिपेक्ष मूल्यका बारेमा सबै धर्मगुरुलाई विस्तृत प्रशिक्षण दिने पनि बताएका छन्।

त्यसै गरी अति दक्षिणपन्थी उम्मेदवार ली पेनले सबै प्रकारको गैरकानुनी आप्रवासीमाथि रोक लगाउने नीति अगाडि सारेकी छिन्। उनले वार्षिक आप्रवासीको संख्यालाई १० हजारमा सीमित गर्ने पनि बताएकी छिन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जस्तै सबै विदेशी अपराधी तथा इस्लामी कट्टरपन्थीसँग सम्बन्ध राख्नेहरूलाई स्वतः फिर्ता पठाउने र कट्टरपन्थी मस्जिदहरूलाई बन्द गर्ने नारा दिएकी छिन्। उनले विदेशमा फ्रान्सका दूतावासहरूमा शरणका लागि आवेदन दिनेहरूलाई मात्र शरण दिने कानुन ल्याउने प्रतिबद्धता पनि व्यक्त गरेकी छिन्।

शिक्षा क्षेत्रमा म्याक्रोले विशेष आवश्यक स्थानहरू, खास गरी गरिब इलाकामा शिक्षक छात्रको अनुपात १ः१२ बनाउने नीति ल्याउने बताएका छन्। त्यसै गरी बच्चाहरूलाई मोबाइल प्रयोगमाथि रोक लगाउने र १८ वर्ष पूरा गरेका प्रत्येक छात्रलाई किताब, सिनेमा र थिएटर खर्चस्वरूप ५ सय युरोको सांस्कृतिक पास दिने उनले बताएका छन्।

त्यसै गरी ली पेनले शिक्षाको मूलधारमा फर्किने, कक्षामा फ्रान्सेली, इतिहास र गणितको पढाइमा जोड दिने बताएकी छिन्। शिक्षकप्रति सम्मान तथा स्कुलमा युनिफर्म पुनः लागू गर्ने तथा स्कुलको धर्मनिरिपेक्ष क्ष्ँेत्रका रूपमा सामाजिक संघर्षबाट मुक्त गर्ने प्रतिबद्धता ब्यक्त गरेकी छिन्।

त्यसै गरी म्याक्रोले युरोपेली संघमा युरोजोनका लागि छुट्टै बजेट विनियोजन तथा सुधार लागू गर्ने बताएका छन्। ब्रब्जिट वार्तामा युरोपेली संघको एक बजारको नियम सबै ब्यापारिक सहयोगीका लागि लागू गर्ने तथा युरोपेली संघ क्यानाडा सम्झौता (सेटा) जस्ता मुक्त ब्यापार सम्झौतालाई बढावा दिने बताएका छन्।

युरोपेली संघको मुद्दामा ली पेन अनुदार रहेकी छिन्। उनले युरोपेली संघसँग फ्रान्सको शक्ति फिर्ता गर्नका लागि सुधार लागू गर्न वार्ता गर्ने बताएकी छिन्। उनले फ्रान्सको युरोपेली संघको सदस्यतालाई लिएर जनमत संग्रहसमेत गर्ने नीतिलाई जोड दिइरहेकी छिन्। सीमामाथि पूर्ण नियन्त्रण लागू गर्ने, सेनजेन मुक्त सीमा व्यवस्था छोड्ने, ६ हजार नयँँ कस्टम अधिकारी तैनाथ गर्ने नीति उनले अगाडि सारेकी छिन्।