लैङ्गिक हिंसामा परेकालाई अञ्चलमा निशुल्क सेवा


नेपाल समाचारपत्र, बुटवल ।
लुम्बिनी अञ्चल अस्पतालमा लैङ्कि हिंसा सम्बन्धि एकद्वार संकट व्यबस्थापन केन्द्र स्थापना गरी सो केन्द्रबाट सेवा प्रारम्भ गरिएको छ । उक्त संकट व्यबस्थापन केन्द्रको आईतबार एक कार्यक्रमका बिच रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बिनोदप्रकाश सिंहले उद्घाटन गर्नुभयो ।

लुम्बिनी अञ्चल अस्पतालमा स्थापना गरिएको लैङ्कि हिंसा सम्बन्धि एकद्वार संकट व्यबस्थापन केन्द्रका अध्यक्ष समेत रहनु भएका प्रमुख जिल्ला अधिकारी सिंहले मानवीय रुपमा अत्यन्तै सम्वेदनशिल विषय महिला तथा बालबालिका बिरुद्ध हुने सबैप्रकारका हिंसाको निशुल्क सेवा प्रदान गरिने भएकोले सबैले सहयोगी भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो ।

मन्त्रालयको निर्देशन अनुसार तत्कालकालागि तीन बेडबाट लैङ्कि हिंसा सम्बन्धि एकद्वार संकट व्यबस्थापन केन्द्र शुभारम्भ सहित सेवा सञ्चालन गरिएको लुम्बिनी अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट राजेन्द्र सञ्जेलले बताउनु भयो ।

लैङ्गिक हिंसामा परेका महिला तथा बालबालिकालाई स्वास्थ्य उपचार सहितका सेवाहरु एकिकृत रुपमा उपलब्ध गराउने उद्देश्यले संकट व्यबस्थापन केन्द्र स्थापना गरिएको स्वास्थ्य मन्त्रालयका शाखा अधिकृत माधवप्रसाद ढकालले बताउनु भयो ।

उक्त केन्द्रबाट लैङ्कि हिंसामा परेका महिला तथा बालबालिकालाई स्वास्थ्य उपचार, चिकित्साजन्य प्रमाण संकलन र संरक्षण, मानसिक एवं मनोसामाजिक परामर्स जस्ता स्वास्थ्य सेवा निशुल्क रुपमा प्रदान गरिने छ भने सुरक्षा, आश्रय, कानुनी उपचार र पुनस्थापना लगायतका न्यायिक सेवा एकिकृत रुपमा प्रदान गरिनेछ ।

मन्त्रालयले हालसम्म यस बाहेक २८ वटा लैङ्कि हिंसा सम्बन्धि एकद्वार संकट व्यबस्थापन केन्द्र सञ्चालन गरिसकेको परियोजनाका सल्लाहकार सिताराम प्रसाईले बताउनु भयो ।

नेपाल सरकारले ल्याएको लैङ्गिक हिंसाको बिरुद्ध राष्ट्रिय कार्ययोजना २०१० ले अस्पतालमा आधारित एकद्वार संकट व्यबस्थापन केन्द्रको स्थापना र सञ्चालन गर्न निर्देशन गरे अनुरुप बलत्कार, यौनजन्य दुर्यबहार, शारीरिक हिंसा, जवरजस्ती विवाह, अधिकारबाट वञ्चित र मानसिक हिंसामा परेका महिला तथा बालबालिकालाई सेवा प्रवाह गरिने छ ।