रुपन्देहीमा ६९ हजार बिद्यार्थीका लागि झण्डै तीन करोड छात्रबृत्ति


यमलाल भुसाल, बुटवल ।
जिल्ला शिक्षा कार्यालय रुपन्देहीले चालु आर्थिक वर्षमा छात्रबृत्तिका लागि मात्रै झण्डै तीन करोड रुपैंया खर्च गरेको छ । कार्यालयले जिल्लाका ६९ हजार २ सय ४७ बिद्यार्थीकालागि दुई करोड ८१ लाख १६ हजार ५ सय रुपैंया खर्च गरेको जिल्ला शिक्षा अधिकारी टेकबहादुर थापाले जानकारी गराउनु भयो ।

कार्यालयले आधारभूत तहका छात्रा छात्रबृत्तिमा ५२ हजार ६ सय ७९ जना बालिकालाई वार्षिक जनही तीन सय रुपैंयाका दरले छात्रबृत्ति प्रदान गरेको छ । त्यस्तै आधारभूत तहकै दलिद १० हजार ३ सय ११ जनालाई जनही ४ सय रुपैंयाँ माध्यमिक तहका दलित छात्रबृत्ति तर्फ ३ हजार २ सय ३५ जनालाई बार्षिक जनही ५ सयका दरले छात्रबृत्ति वितरण गरेको हो ।

त्यसैगरी जिल्ला शिक्षा कार्यालयले १ हजार १ सय २४ जना जेहेन्दार बिद्यार्थीलाई जनही १ हजार ७ सय रुपैंयाका दरले छात्रबृत्ति प्रदान गरेको छ भने तराई बिद्यार्थीलाई लक्षित गरी स्थापना गरिएको रामनारायण मिश्र छात्रबृत्तिबाट उच्च माध्यमिक तहमा अध्ययन गर्ने १ हजार ४ सय ५८ जना बिद्यार्थीलाई जनही २ हजार ३ सय रुपैंयाका दरले छात्रबृत्ति प्रदान गरेको हो ।

कार्यालयले आईतबार भैरहवामा पत्रकार सम्मेलन गरी थप ४ सय ४० जना अपाङ्गता भएका बिद्यार्थीलाई छात्रबृत्ति प्रदान गरेको जानकारी दिएको छ । जसमध्ये ६१ जना बिशेष प्रकृतिका घरबाट आवतजावत गर्न नसक्ने आवासीय बिद्यार्थीलाई मासिक ४ हजारका दरले १० महिना सम्मको छात्रबृत्ति रकम प्रदान गरिएको सहायक जिल्ला शिक्षा अधिकारी टिकाराम अर्यालले बताउनु भयो ।

त्यसैगरी १३७ जनालाई बार्षिक ५ हजार, ६७ जनालाई बार्षिक ३ हजार र १७५ जनालाई बार्षिक १ हजारका दरले छात्रबृत्ति प्रदान गरिएको उहाँले जानकारी गराउनु भयो ।