घाँडो टिकट

0
Shares

पहिलो चरणको निर्वाचनको तिथि आउन थोरै समय मात्रै बाँकी रहेकाले यसपालि राजधानी पहिलाको जस्तो फोहर हुन नपाएको विश्लेषण धेरैले धरहरा वरपर गरेको पाइएको छ।

हुनत मेलम्ची प्रकरणले गर्दा पहिला नै राजधानी हिलो र धूलोले टिकिनसक्नु भएको बेलामा यहाँ भन्दा फोहर कति गर्ने भन्ने कुरा पनि उठिरहेको छ। पहिला नै फोहर भएकोले थप फोहर पनि यसैमा मिलिहाल्ने तर्क गर्ने पनि छन्। तर, शुक्रबार स्वतन्त्र भनिएका दलका व्यक्तिहरूलाई परेको आपद् देखेर भने धरहरालाई पनि माया लागेर आयो भन्या। बिचराहरूले चुनाव चिह्न साँझतिर पाए। त्यसपछि छाप्नका लागि प्रेस खोज्दै हिँड्नुपर्यो। त्यतिबेला सम्ममा ठालू दलहरूले सबैतिर चुनाव चिह्न टाँगिसकेका थिए। एकातिर नयाँलाई चिह्न चिनाउनै गाह्रो। हल्लीखल्ली गरेर प्रचार गरौं न त भन्यो भने निर्वाचन आचारसंहिता। हिजो मात्रै ललितपुरमा मोटरसाइकल र्याली गर्नेहरूलाई आयोगले स्पष्टीकरणको पुर्जी नै काटिसकेको छ। एक जना उम्मेदवार धरहरा छेउमा आएर भन्दै थिए– ‘हत्तेरिका चुनाव लड्न त निकै गाह्रो पो रहेछ त। बरु टिकट नै नपाएको भए हुने रहेछ।’ टिकट नपाउने दुखेसो गरिरहेका छन् पाउनेको पनि यस्तो दुखेसो पो सुन्न पाइयो। यो टिकट पनि घाँडो नै रहेछ है पाठकवृन्द।