विश्वमा धुमपानको खतरा भयावह


लन्डन, (एजेन्सी)
स्वास्थ्यसम्बन्धी गरिएको एक पछिल्लो अनुसन्धानबाट विश्वभरि दशमध्ये एक व्यक्तिको मृत्यु धुमपानको कारणबाट हुने गरेको पत्ता लागेको छ। तीमध्ये ५० प्रतिशत व्यक्ति चीन, भारत, अमेरिका र रसियाको रहेको बताइएको छ। अनुसन्धानकर्ताहरूले दशकौंदेखि विश्वमा सुर्ती नियन्त्रण नीतिहरू कार्यान्वयन गरिए पनि जनसंख्या वृद्धिको कारण घुमपानकर्ता पनि बढ्दै गइरहेको चेतावनी दिएका छन्।

विशेष गरी विकासन्मुख मुलुकहरूका नयाँ बजारहरूमा सुर्ती उत्पादन कम्पनीहरूले आक्रामकरूपमा लक्षित भइरहेकाले मृत्युदर अझै बढ्न सक्ने बताएका छन्। यस अनुसन्धानको प्रतिवेदन मेडिकल जर्नल दि लान्सेटमा प्रकाशित भएको हो। वरिष्ठ लेखक डा. इमान्युएला गाकिदोउले भनेका छन्– ‘एक शताब्दिभन्दा लामो समयदेखि स्वास्थ्यमा सुर्तीको खतरनाक प्रभाव पर्छ भन्ने प्रमाणित भइसके तापनि विश्वमा अहिले चार पुरुषमध्ये एकले दैनिक धुमपान गर्ने गरेका छन्।’

धुमपान असामयिक मृत्यु र शारीरिक अशक्तताको दोस्रो ठूलो कारण भएकाले पनि धुमपान नियन्त्रणका लागि सशक्त कदम चलाइनुपर्दछ। दि ग्लोवल बर्डन अफ डिजिज रिपोर्ट सन् १९९० देखि २०१५ सम्म १ सय ९५ राष्ट्रका विभिन्न भू–भागमा हुने गरेको धुमपानमा आधारित रहेको बताइएको छ।
यस अनुसन्धानले सन् २०१५ मा विश्वका झण्डै १ अर्ब व्यक्तिले धुमपान गर्ने गरेको र तिनीहरूमध्ये पनि ४ पुरुषमध्ये १ र २० महिलामध्ये १ जनाले धुमपान गर्ने गरेको पत्ता लगाएको थियो। सन् १९९० मा ३ पुरुषमध्ये १ र १२ महिलामध्ये १ ले मात्र चुरोट पिउने गरेको पाइएको थियो।

तर ब्राजिलमा भने विगत २५ वर्षभित्र नियमित घमपान गर्ने पुरुषको संख्यामा २९ बाट १२ र तथा महिलामा १९ बाट ८ प्रतिशतमा झरेको पाइएको छ। तर, सोही अवधिभित्र रसियामा भने चुरोट पिउने महिलाको संख्यामा ४ प्रतिशतले वृद्धि भएको छ। यसै गरी बंगलादेश, इन्डोनेसिया र फिलिपिन्समा भने धुमपानको स्थितिमा कुनै परिवर्तन आएको छैन।