कोरियाली प्रायद्विप तनाब


दक्षिण कोरियामा अमेरिकी क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली थाड तैनाथ सही समयमा किमसँग भेट्न पाए खुसी हुन्छुः ट्रम्प

वासिङ्टन, (एजेन्सी)
उत्तर कोरियासँगको बढ्दो तनाबका बीच अमेरिकी सेनाले दक्षिण कोरियामा आफ्नो विवादास्पद थाड क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली तैनाथ गरेको छ।

उक्त प्रतिरक्षा प्रणाली उत्तर कोरियाको क्षेप्यास्त्र रोक्न सक्षम हुनेछ। यद्यपि अहिले पनि यो क्षेप्यास्त्र प्रणाली पूर्ण सञ्चालनको अवस्थामा छैन। यसका लागि केही महिना लाग्नेछ। विगत केही महिनामा उत्तर कोरियाले लगातार चेतावनी दिइरहेको छ भने अमेरिकाले पनि युद्धपोत तथा पनडुब्बी उक्त क्षेत्रमा तैनाथ गरिसकेको छ।


उत्तर कोरियाले ताजा अमेरिकी सैन्य अभ्यासलाई लिएर कडा आपत्ति जनाउँदै अमेरिका उक्त इलाकामा परमाणु युद्धजस्तो स्थिति ल्याउने प्रयासमा रहेको आरोप लगाएको छ।

यसैबीच सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू उत्तर कोरियाका राष्ट्रपति किम जोङ उनसँग उपयुक्त परिस्थितिमा भेटेमा सम्मानित महसुस गर्ने बताएका थिए।

अमेरिकाले गत हप्ता थाड क्षेप्यास्त्र प्रणाली स्थापित गर्ने बताएका थिए। यो सन् २०१७ को अन्त्यसम्ममा मात्र पूर्ण क्षमतामा सञ्चालनमा आउन सक्ने जनाइएको छ।

थाड क्षेप्यास्त्र प्रणाली अर्था टर्मिनल हाइ अल्टिच्युड एरिया डिफेन्स दक्षिण कोरियाको सियोंग्जुमा स्थापित गरिएको छ। उक्त तैनाथलाई लिएर दक्षिण कोरियामा त्यसको विरुद्ध उग्र प्रदर्शन भएको थियो।

अमेरिकी सेनाका प्रवक्ताले उक्त प्रणालीको मद्दतबाट कोरियाली गणतन्त्रको सुरक्षा सुनिश्चित हुने बताएका छन्। यद्यपि अमेरिकाकै अर्को रक्षा अधिकारीले एएफपीलाई उक्त प्रणाली अझै पनि प्रारम्भिक चरणमा रहेको र त्यसलाई पूर्ण अभेद्य बनाउन केही महिना लाग्ने बताए। तर उक्त क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीको तैनाथले त्यस क्षेत्रमा हमलाको सम्भावना बढेको प्रदर्शकारीहरूले बताए।

चीनको विरोध
चीनले पनि उक्त प्रणालीको कडा विरोध गरेको छ। यसले चीनको सैन्य अभियानमा चुनौती थपेको जनाएको छ। चीनले आफ्नो हितको रक्षाका लागि आवश्यक कदम चाल्ने बताएको छ। गत वर्ष अमेरिकाले दक्षिण कोरियमा थाड प्रणाली जडान गर्ने सार्वजनिक गर्दा उत्तर कोरियाले त्यसको कडा आलोचना गर्दै कडा जवाफ दिने चेतावनी दिएका थिए।

थाड प्रणाली के हो ?
यो प्रणाली मध्यम रेन्जको ब्यालिस्टिक क्षेप्यास्त्र उडानको शुरुआतमै नष्ट पार्न सक्षम छ। यो प्रविधि ‘हिट टु किल’ अर्थात् अगाडि आइरहेको हतियारलाई रोक्नेमात्र नभई नष्टै गर्छ।
यो २ सय किलोमिटर दूरीसम्म र १ सय ५० किलोमिटरको उचाइसम्म प्रहार गर्न सक्षम छ। अमेरिकाले यो प्रणाली यसअघि उत्तर कोरियाको हमलाबाट बचाउन गुवाम र हाइटीमा पनि तैनाथ गरिसकेको छ।

ट्रम्प किमलाई भेट्न इच्छुक
विगत कयौं हप्तादेखि उत्तर कोरियाको विरोधमा कडा बयान दिइरहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनसँग भेट्न चाहेको बताएका छन्। ब्लुमबर्गलाई दिएको एक अन्तर्वार्तामा उनले ‘उपयुक्त परिस्थितिमा’ किम जोङसँग भेटेमा आफूलाई खुसी नै लाग्ने बताएका थिए।

यद्यपि ह्वाइट हाउसका प्रवक्ताले विद्यमान परिस्थिति उक्त भेटघाटका लागि सही नभएको र उत्तर कोरियाले आफ्नो उक्साउने खालका गतिविधिमाथि नियन्त्रण गरोस् भन्ने अमेरिकी चाहना भएको बताए।

अमेरिकाले उत्तर कोरियाको परमाणु कार्यक्रममाथि रोक लगाउन प्रयास गरिरहेको छ। यसका लागि उसले सघन कूटनीतिको प्रयोग गरिरहेको छ। अहिले तनाब बढेपछि अमेरिकाले कारियाली क्षेत्रमा आफ्ना युद्धपोत तैनाथ गरेको छ। यसअघि आइतबार ट्रम्पले किम जोङ उनलाई अत्यन्त चलाख व्यक्ति भएको बताएका थिए।

सीबीएस नेटवर्कलाई दिएको एक अन्तर्वार्तामा ट्रम्पले उत्तर कोरिया फेरि पनि परीक्षण गर्छ भने त्यसले अमेरिका ‘अत्यन्त खुसी नहुने’ बताएका थिए। उत्तर कोरियाले परमाणु हतियारलाई सानो आकारमा ल्याउने प्रयास गरिरहेको अनुमान छ। जसलाई लामो दूरीको क्षेप्यास्त्रमा जडान गर्न सकिनेछ। ती क्षेप्यास्त्रको विस्तार क्षमता अमेरिकासम्म पुग्न सक्ने बताइएको छ।