मीठो आँपको नमीठो व्यापार


हेटौंडा,(नेस)

खाँदा मीठो मानिने हुँदा आँपलाई ‘फलको राजा’ पनि भनिन्छ । आँपलाई अमृत पनि भन्ने गरिन्छ । आयुर्वेदमा उल्लेख गरिएअनुसार आँप काँचो होस् अथवा पाकेको किन नहोस्, दुवैमा औषधिको गुण हुन्छ ।

यसले मुटु र पित्तलाई नियन्त्रणमा ल्याउने काम गर्दछ । आँप सेवनले अनुहारको चाउरीपन समेत हटाउन सहयोग पु¥याउँछ भनिन्छ । तर, यसको मीठोपनले आँपप्रति आकर्षित हेटौंडेली उपभोक्ताका लागि एउटा नमिठो खबर छ ।

खाद्य नियमअनुसार प्रतिवन्धित हानिकारक विषादी ‘कार्वाइड’ प्रयोग गरेर पकाइका आँप हेटौंडा बजार क्षेत्रमा देखिएको छ । फलफूल गोदाममा ‘कार्वाइड’ प्रयोग गरेर जबर्जस्ती पकाइएका आँप जफत गर्नेतर्फ कुनै निकाय क्रियाशील देखिएको छैन ।

पसलदेखि ठेलासम्म पु¥याउने फलफूल गोदाममा विषादी प्रयोग गरी पकाइएको आँप बेच्न राखिएका छन् । हेटौंडा–१०, ४ र १ लगायत वडामा रहेका गोदामबाट गत वर्ष करिब १ हजार केजी आँप जफत गरी राप्तिबगरमा खाल्डो खनेर नष्ट गरिएको थियो । यस वर्ष भने सबै निकाय मौन छन् ।

यस्तो विषादीले मानव स्वास्थ्यमा नराम्रो असर पु¥याउने गर्दछ । हेटौंडा बजारभर र भित्री टोलमा विषादी हालेर पकाइएका पहेंला आँप छ्याप्छ्याप्ती बिक्री हुने गरेका छन् । भारतबाट बीरगञ्जहँुदै विषालु आँपहरु हेटौंडासम्म निर्वाध ल्याइएको हो । केही आँप भने स्थानीय ब्यापारीले गोदाममा ‘गोप्य’ ढंगले पकाएका हुन् ।

आँप पाक्ने समय असार अन्त्यदेखि साउन र भदौ महिना भए पनि रसायन हालेर वैशाख सुरुदेखि नै आँपले बजार कब्जा गरिरहेको छ । हेटौंडाबासी मन्द विषको शिकार बनिरहेका छन् । त्यस्ता विषयुक्त आँपको परीक्षण भएको छैन भने उपभोक्ताले राम्रोसँग बुझेका छैनन् ।

भारत मोतिहारीका दिनेश सहनीले आफूले नेपाली सीमामा रहेको क्वारेन्टाइन, भन्सार कर्मचारी र प्रहरीलाई पैसा दिएर आँप बीरगञ्ज बजारमा ल्याउने गरेको बताए । बीरगञ्ज भन्सार नाकाबाट दैनिक करिब पाँच लाख बराबरको भारतीय आँप व्यापारीले ल्याउने गरेको सहनीको अनुमान छ ।

कार्वाइड नामक रसायन प्रयोग गरी पकाएको आँप खानाले मानवस्वास्थ्यमा प्रतिकूल असर पर्ने, पेट दुख्ने, आँखामा प्रभाव पार्ने, मुटुमा प्रभाव पार्नेलगायत विभिन्न स्वास्थ्य समस्या हुने भएकाले त्यस्ता आँप खान नहुने चिकित्सकहरु बताउँछन् ।

व्यापारीले बढी मुनाफा लिन भारतबाट आउने यस्ता काँचो आँपमा कार्वाइड नामक रसायन राखेर २४ घण्टामा पकाएर बिक्रीका लागि राख्ने गर्दछन् । भारतको दिल्ली, चेन्नइबाट सीमावर्ती भारतको रक्सौलका व्यापारीले यस्ता आँप ल्याउने गरेको र ती आँप फुटकर भारतीय व्यापारीले साइकलमा राखेर बीरगञ्ज बजारसम्म ल्याउने अनि, यहाँका व्यापारीले बीरगञ्जबाट आँप मगाउने गर्दछन् ।

हाल कतिपय व्यापारीहरुले चलाखी गर्दै बगानबाटै कार्वाइड हाल्ने गरेको बताइन्छ । कार्वाइड प्रयोग भएर पाकेका आँपको पोषणसमेत गुम्ने खाद्य अधिकृत अनुप हलवाईले बताए । लामो समयसम्म टिकाउ नहुने समस्या भएको व्यापारी स्वयम् बताउँछन् ।

खाद्य ऐनले कार्वाइडलाई वर्जित गरेको छ । ऐन २०२३, नियमावली २०२७ को नियम १९ (घ) मा कार्वाइड प्रतिवन्धित भनेर उल्लेख गरिएको छ । ऐनले प्रतिवन्ध गरेको करिब ५१ वर्षसम्म पनि कार्वाइड प्रयोग नियन्त्रणमा आउने सकेको छैन । यसको व्यापकता झन् बढेको छ ।

व्यापारीले आँपको सिजनमा ७५ लाख रुपियाँसम्मको आँप व्यापार गर्ने गरेका छन् । तीमध्ये अधिकांशमा कार्वाइड प्रयोग हुने बताइएको छ ।