कोरियाली प्रायद्विप तनाव चीनद्वारा नयाँ विमानबाहक युद्धपोत तैनाथ


बेइजिङ, (एजेन्सी)
चीनले आफ्नो सैन्यशक्ति प्रदर्शन गर्ने क्रममा देशभित्रै निर्माण भएको एउटा नयाँ विमानबाहक युद्धपोतलाई सागरमा उतारेको छ। लियाओनिङपछिको चीनको यो दोस्रो युद्धपोत हो।

यो चीनमै बनेको पहिलो युद्धपोत पनि हो। चीनको सरकारी सञ्चारमाध्यमले उक्त युद्धपोतलाई उत्तरपूर्वी डायलनको तटमा उतारिएको जनाएको छ। समाचारमा सन् २०२० बाट मात्र यसको पूर्ण परिचालन हुने जनाइएको छ। दक्षिण चीन सागरमा उत्तर कोरिया र अमेरिकाबीच तनाव बढिरहेका बेला चीनले उक्त कदम उठाएको हो। उक्त युद्धपोत चिनियाँ नौसेना गठन भएको ६८औं वर्ष पूरा भएको अवसरमा उद्घाटन गरिएको हो। लियाओनिङ चीनको एक मात्र सक्रिय युद्धपोत हो। उक्त युद्धपोत चीनले युक्रेनबाट किनेको हो र त्यसलाई आफ्नो आवश्यकताअनुसार पुनर्संरचना गरिएको थियो।

हालै मात्र कोरियाली प्रायद्विपमा अमेरिकाले आफ्ना युद्धपोत र एक पनडुब्बी पठाएका छन्। उत्तर कोरियाको परमाणु तथा क्षेप्यास्त्र कार्यक्रमबाट रुष्ट भएका अमेरिकाले प्रायद्विपमा बढ्दो तनावलाई हेरेर उक्त कदम चालेको हो। यसबीच चीनले दुवै पक्षलाई शान्ति कायम राख्न अपिल गरेको छ।

चीनको यो नयाँ युद्धपोत धेरैका लागि चिन्ताको विषय बनेको जनाइएको छ। पश्चिमका सैनिकको चीनको यो युद्धपोतमाथि निगरानी रहनेछ। पूर्ण रुपमा यसको परिचालनमा केही वर्ष लाग्न सक्नेछ। यो आंशिक रुपमा सोभियत कालको डिजाइनमा छ। अमेरिकी नौसेनाले १० वटा युद्धपोतको प्रयोग गर्दै आइरहेको छ। ती युद्धपोतको तुलनामा चीनको यो युद्धपोत प्राविधिक रुपमा कम स्तरको छ। यद्यपि यसलाई चीनको ठूलो उपलब्धि मानिएको छ। चीनको युद्धपोत कार्यक्रम अत्यन्त्य गोप्य छ। विदेशी सैन्य विज्ञ तथा चिनियाँ सञ्चारमाध्यमले उक्त दोस्रो युद्धपोतको विकासलाई लिएर उपग्रहबाट प्राप्त तस्वीर तथा समाचार सामग्री प्रकाशित गर्दै आइरहेका थिए। चीनले सन् २०१५ को उत्तरार्धमा मात्रै त्यसको पुष्टि गरेको थियो।

अमेरिकाले उत्तर कोरियाको परमाणु कार्यक्रम समाप्त पार्न सबै विकल्प खुला रहेको चेतावनी दिइरहेको छ। अमेरिकाले उत्तर कोरियाली प्रायद्विपमा कार्ल विन्सन विमानबाहक युद्धपोतको प्रयोग गरेको छ।

क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली थाड तैनाथ
अमेरिकाले दक्षिण कोरियामा आधुनिक प्रविधियुक्त क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली ‘थाड’ तैनाथ गर्ने कार्य थालेको छ। उत्तर कोरियाको क्षेप्यास्त्र तथा परमाणु कार्यक्रमलाई लिएर बढ्दो तनावका बीच अमेरिकाले उक्त कदम चालेको हो। अमेरिकाले क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली तैनाथ गरेको स्थानमा स्थानीयले त्यसको कडा विरोध गरेका छन्।

उक्त प्रतिरक्षा प्रणालीको उपकरण बोकेका गाडीको लस्कर दक्षिण कोरियामा पुगेपछि स्थानीय र सुरक्षा बलबीच झडप भएको जनाइएको छ। उक्त इलाका देशको दक्षिणी भागमा पर्छ र विगतमा यसको प्रयोग गोल्फ कोर्सका रुपमा हुन्थ्यो। अमेरिकाले दक्षिण कोरियामा तैनाथ गर्न लागेको प्रतिरक्षा प्रणाली थाड हो। यो प्रतिरक्षा प्रणालीमा ब्यालेस्टिक क्षेप्यास्त्रलाई निसानामा पुग्नुअगाडि नै बीचमा नष्ट गर्न सक्ने क्षमता राख्छ। गत वर्ष चीनको आपत्तिका बाबजुद अमेरिकाले दक्षिण कोरियमा थाड सिस्टमको तैनाथ गर्ने फैसला लिएको थियो। यसले क्षेत्रीय सुरक्षा सन्तुलनलाई खतरामा पुर्याउन सक्ने आशंका गरिएको छ।

पनडुब्बी दक्षिण कोरियामा
यसैबीच उत्तर कोरियाले अर्को परमाणु वा क्षेप्यास्त्र परीक्षण गर्ने आशंका रहेको बेला अमेरिकाको एक पनडुब्बी दक्षिण कोरिया पुगेको छ। क्षेप्यास्त्रले लेस युएसएस मेसिनगन विमानवाहक युद्धपोत कार्ल विन्सनसँग आइरहेका सैन्य जहाजहरुसँग उक्त पनडुब्बी रहनेछ।

१ सय ५४ वटा टमहक क्रुज क्षेप्यास्त्र र ६० विशेष सैन्यबल तैनाथ रहेको उक्त पनडुब्बी मंगलबार बुसान बन्दरगाह पुगेको दक्षिण कोरियाली सञ्चारमाध्यमले जनाएको छ।

मंगलबार उत्तर कोरियाले आफ्नो सेनाको ८५औं स्थापना दिव मनायो। यस अवसरमा उत्तर कोरियाले ठूलो स्तरमा सैन्य अभ्यास गरेको दक्षिण कोरियाले जनाएको छ।