नेपालको भाग्यले बाँचेकाहरू बेलायती संसद्मा

0
Shares

गत २०७२ सालको वैशाख १२ गते नेपालमा गएको प्रलयकारी भूकम्पमा बाँचेकाहरुको कथा समेटिएको चर्चित वृत्तचित्र भाग्यले बाँचेकाहरु (नेपाल अर्थक्वेकः हिरोज, सभाइभर्स एन्ड मिराकल्स) बेलायतको संसद्मा प्रदर्शन गरिएको छ। नेपालको फिल्म बेलायतको संसद्मा प्रदर्शन गरिएको इतिहासमै यो पहिलो भएको बेलायती संसद् सचिवालयले जनाएको छ।

महाभूकम्पको दोस्रो वार्षिकीको पूर्वसन्ध्या पारेर स्कटल्यान्डको फिपका सांसद स्टेफिन गेथिन्सले बेलायती संसद्मा भाग्यले बाँचेकाहरु प्रस्तुत गरेका हुन्। जसलाई द लिटिल शेर्पा फाउन्डेसनका सीईओ तथा चर्चित फोटोग्राफर जेम्स ल्याम्बले, नेपाल पर्यटन बोर्डका मानार्थ दूत पशुपति भण्डारी र यूके–नेपाल फ्रेन्डसिप सोसाइटीका कार्यकारी निर्देशक एलन मार्सेल सान्काले समन्वय गरेका थिए। सोमबार साँझ भएको वृत्तचित्र प्रदर्शनीमा बेलायतस्थित विभिन्न निकायका अधिकारीहरु, नेपाली दूतावास तथा नेपाली सामाजिक संघ–संस्थाका प्रतिनिधिहरुको पनि उपस्थिति थियो।

वृत्तचित्र प्रदर्शनपछि प्रेस विज्ञप्ति जारी गर्दै सांसद गेथिन्सले भनेका छन्– ‘हामी नेपालका भूकम्पपीडितलाई सम्भव हुने सबैखाले सहयोग गर्न तयार छौं। भूकम्पपीडितका लागि सक्दो सहयोग गरिदिन सबैलाई अनुरोध पनि गर्दछु।’ सांसद गेथिन्सले महाभूकम्पको बेलामा समेत ज्यानको बाजी थापेर उत्कृष्ट डकुमेन्ट्री निर्माण गरेको भन्दै भाग्यले बाँचेकाहरु हेर्न सबैलाई अनुरोध पनि गरेका छन्।

निर्मात्री शारदा गैरेसँगै बेलायती संसद्मा पुगेका भाग्यले बाँचेकाहरुका निर्देशक गणेश पाण्डेले भूकम्पपछि नेपालीको पीडामा मल्हम लगाउन सहयोग गरेकोमा बेलायत सरकार र बेलायती जनतालाई धन्यवाद दिए। ‘आज बेलायतको संसद्मा उभिएर नेपालीको कथा–व्यथा प्रदर्शन गर्न पाउँदा खुसी लागेको छ’, कार्यक्रममा वृत्तचित्रका निर्देशक पाण्डेले भने– ‘अझ बेलायतको संसद् भवनमा नेपाली फिल्म प्रदर्शन भएको यो पहिलो रहेछ। यो ऐतिहासिक अवसर पाएकोमा हामी गौरवान्वित भएका छौं।’

यसै गरी, बेलायतस्थित नेपाली दूतावासका उपप्रमुख शरद्राज आरनले भाग्यले बाँचेकाहरुले अन्तर्राष्ट्रिय जगत्मा नेपाल र नेपालीको प्रवर्धन गरेकोमा प्रशंसा गरे। उनले केही प्रक्रिया पूरा गर्दा समय लागे पनि भूकम्पपीडितका लागि सरकारले आवश्यक सहयोग गरिरहेको बताए।

चर्चित फोटोग्राफर एवं द लिटिल शेर्पा फाउन्डेसनका सीईओ जेम्स ल्याम्बले आफूले नेपालमा भूकम्पको बेला महसुस गरेको अनुभव सुनाउँदै भाग्यले बाँचेकाहरुमा नेपाल र नेपालीको कथा व्यथालाई सजीवरूपमा उतार्न सफल भएकोमा धन्यवाद दिए। यसै गरी, नेपाल पर्यटन बोर्डका बेलायतस्थित मानार्थ दूत पशुपति भण्डारीले नेपाल सुरक्षित पर्यटकीय गन्तव्य भएको भन्दै ढुक्कसँग नेपाल भ्रमण गर्न सबैलाई आग्रह गरे। धेरै पुरातात्विक तथा पर्यटकीयस्थलहरु निर्माण भइसकेको र कतिपय निर्माण हुने क्रममा रहेको भण्डारीले जानकारीसमेत दिए।

नेपालको महाभूकम्पमा परी चमत्कारिकरूपमा ज्यान बचाउन सफल नेपालीको कथामा बनेको वृत्तचित्र भाग्यले बाँचेकाहरुले १५ वटा अन्तर्राष्ट्रिय अवार्ड जितेको छ भने ३२ भन्दा बढी देशमा प्रदर्शनका लागि छनौट भएको छ। बेलायत यात्राका क्रममा नेपाली समुदायले विभिन्न ठाउँमा भाग्यले बाँचेकाहरु प्रदर्शन गर्ने तयारी गरेका छन्।

साइन मिडिया प्रालिका तर्फबाट शारदा गैरेले निर्माण गरेको यस डकुमेन्ट्री छायांकन विनोद विष्ट, सम्पादन कुमार शाह, संगीत जुगल डंगोल, लेखन सपना शाक्य र दीपक कोइरालाले गरेका छन् भने अमेरिकन चलचित्रकर्मी जोजाय हुपरले परामर्शदाता सम्पादकको रूपमा काम गरेका छन्। सन् २०१५ को डिसेम्बरमा भएको काठमाडौं अन्तर्राष्ट्रिय पर्वतारोहण फिल्म महोत्सव (किम्फ) मा उत्कृष्ट डकुमेन्ट्री र पब्लिक च्वाइस अवार्ड जितेपछि यसको अवार्ड यात्रा आरम्भ भएको हो।