फ्रान्सको राष्ट्रपतीय चुनाव म्याक्रो र ली पेन दोस्रो चरणमा पक्का


पेरिस, (एजेन्सी)
फ्रान्सका राष्ट्रपतीय चुनावमा सत्तारूढ सोसलिस्ट पार्टीले सबैभन्दा ठूलो पराजयको सामना गर्नुपरेको छ। सम्पन्न राष्ट्रपतीय चुनावमा उसको उम्मेदवारलाई ६ प्रतिशत मात्र मत प्राप्त भएको छ।
मध्यमार्गी इम्यानुएल म्याक्रोले सबैभन्दा बढी २४ दशमलव ०१ प्रतिशत मत हासिल गरेका छन् भने चर्चित दक्षिणपन्थी नेसनल फ्रन्ट पार्टीका नेता ली पेनले २१ दशमलव ३ प्रतिशत मत प्राप्त गरेकी छिन्। ली पेन दोस्रो स्थानमा परेकी छिन्। फ्रान्समा राष्ट्रपति चुनाव जित्नका लागि ५० प्रतिशतभन्दा धेरै मत प्राप्त गर्न आवश्यक छ। त्यसैले आगामी मे ७ मा म्याक्रो र ली पेनबीच दोस्रो चरणको प्रतिस्पर्धा हुनेछ।

पहिलो चरणको चुनावमा ११ जना उम्मेदवार मैदानमा थिए। यस चुनावमा ७९ प्रतिशत मतदान भयो। देशकै कुनै प्रमुख पार्टी दोस्रो चरणमा नपुगेको यो ६० वर्षपछिको पहिलो घटना हो। पहिलो चरणमा कुनै पनि उम्मेदवारको मत ५० प्रतिशत नपुगेको अवस्थामा सबैभन्दा बढी मत हासिल गर्ने पहिलो दुई उम्मेदवारबीच दास्रो चरणको प्रतिस्पर्धा हुने व्यवस्था रहेको छ।

म्याक्रो वर्तमान फ्रांस्वाँ होलान्ड सरकारमा अर्थ मन्त्री थिए। सरकारको नीतिहरूप्रति असन्तुष्ट भएपछि सन् २०१६ मा पार्टी र मन्त्रीपद दुवैबाट राजीनामा दिएका थिए। त्यसपछि उनले ‘आँ मार्स’ अर्थात् ‘अगाडि बढौं’ अभियान शुरू गरे। सोही नाममा पार्टीको गठन गरे र यस चुनावमा सबैभन्दा ठूलो पार्टीका नेता भएर उदय भए।

पहिलो चरणमा पराजित भएका समाजवादी उम्मेदवार बेनोआं आमों र रूढीवादी फियोँले म्याक्रोलाई समर्थन गरेका छन्। उनीहरु युरोपेली संघ (ईयू) विरोधी ली पेनलाई विजयी हुनबाट रोक्न चाहेका छन्। ती दुवै दलले २५ प्रतिशत मत हासिल गरेका छन्। म्याक्रो युरोपेली संघसँग राम्रो सम्बन्धका पक्षधर हुन्। उनी राष्ट्रपति बनेमा फ्रान्स र ईयूको सम्बन्ध पहिलाको जस्तै राम्रो रहनेछ। तर ली पेनले फ्रान्स ईयूबाट बाहिर आओस् भन्ने चाहेकी छिन्। उनले आफू राष्ट्रपति भएपछि ईयूबाट बाहिरिन बेलायतले जस्तै जनमत संग्रह गराउने प्रतिबद्धता व्यक्त गरेकी छिन्।

पेनले सबै राष्ट्रवादीसँग फ्रान्सलाई बचाउन आफूलाई मत दिन अपिल गरेकी छिन्। त्यसै गरी म्याक्रोले फ्रान्स इतिहासको अद्भूत क्षणमा उभिएको र उनीहरुको पार्टीले देशको शासकीय स्वरूप नै परिवर्तन गरेको बताए। यदि ३९ वर्षीय म्याक्रो दोस्रो चरणमा विजयी भई राष्ट्रपतिमा निर्वाचित भए भने उनी सबैभन्दा कम उमेरका राष्ट्रपति हुनेछ र देशको प्रमुख पार्टीसँग कुनै सम्बन्ध नराख्ने पाँचौं राष्ट्रपति बन्नेछ।

ली पेन सन् २०१२ को राष्ट्रपतीय चुनावमा तेस्रो स्थानमा परेकी थिइन्। यदि उनले दोस्रो चरणको चुनाव जितेमा देशको पहिलो महिला राष्ट्रपति बन्नेछिन्।