प्लास्टिक झोलासहित नगरपालिका प्रवेशमा रोक


हेटौंडा,(नेस)
हेटौंडा उपमहानगरपालिकाले नगरपालिका कार्यालयमा कामका लागि जाने सेवाग्राहीलाई प्लास्टिक झोलासहित प्रवेशमा रोक लगाउन थालेको छ ।

उपमहानगरपालिकाले प्लास्टिक झोलामा प्रतिवन्ध लगाउने संकल्प गरेकाले यस्तो कार्य थालिएको हो । प्लास्टिकलाई नियन्त्रण मात्र गर्नसके फोहोरमा धेरै नियन्त्रण हुने भएकाले गत शुक्रबारदेखि यस्तो कार्यलाई कडाइका साथ लागु गरिएको छ ।

हेटौंडा नगरपालिकाले देशमा पहिलोपटक नगरलाई प्लास्टिक झोलामुक्त क्षेत्र घोषणा गरेको थियो । नगरपालिकाका वातावरण महाशाखा प्रवन्धक बीके महर्जनले कार्यालयलाई प्लास्टिक झोलामुक्त बनाउने व्यबहारिक कार्य थालिएको बताएका हुन् ।

नगरपालिकाले प्रत्येक महिना पहिलो शुक्रबार २ बजेदेखि ३ बजेसम्म कार्यालय सरसफाइ अभियान पनि थालनी गरेको छ । सरकारका मुख्य सचिवबाट जारी भएको १० बुँदे सरसफाइ घोषणापत्र २०७३ अन्तर्गत् उपमहानगरले यस्तो कार्य थालनी गरेको महर्जनले बताए ।

प्लास्टिक झोलाले वातावरण प्रदुषण गरेकाले केही युवाले ‘पर्दैन, मसँग आफ्नै झोला छ’ भन्ने अभियान चलाएका थिए । युवाले प्लास्टिक झोलाविरुद्ध हस्ताक्षर पनि बटुलेका थिए । उनीहरुले मन्त्रालयलाई पनि दबाब दिँदै आएका थिए ।

आजकल हेटौंडा मुख्य बजारमा प्लास्टिक झोला बोकेर हिँडेका मान्छे केही कम भेटिन्छन् । नगरपालिकाले निगरानी बढाएसँगै प्लास्टिक झोलाको उपभोग घट्दै गएको छ । यद्यपि, पूर्ण नियन्त्रणमा आइसकेको छैन ।

भूकम्पपछि अनुगमन ठप्प हुँदा प्लास्टिक झोला केही बढी परिमाणमा प्रयोग भइरहेकोमा फेरि कडाइ गरिएको हो । प्रतिवन्धित गरिएपछि केही दिन अनुगमन तीव्र पारिएको थियो । त्यसबेला नगरपालिकाले प्रतिवन्धित झोला जफत ग¥यो । तर, २०७२ वैशाख १२ गतेको भूकम्पपछि नगरपालिकाले प्लाष्टिक झोला प्रयोगमा निगरानी राख्न सकेन । जसका कारण प्लाष्टिक झोला नियन्त्रण अभियानलाई असर गरेको छ ।

प्लास्टिक प्रयोग पुरानै अवस्थामा फर्किएपछि नगरपालिका फेरि बजार अनुगमनको तयारीमा छ । प्लास्टिक झोलामा सामान दिने र बोक्ने बानी परेका व्यापारी तथा उपभोक्तालाई केही प्रभाव पारेको छ । प्लास्टिक झोलाको उपयुक्त विकल्प अभावले दुवै पक्ष समस्यामा परेका हुन् । उपभोक्ता घरबाट झोला बोकेर जान अभ्यस्त नभएकाले पनि समस्या बढेको प्रवन्धक महर्जनको भनाइ छ ।

प्लास्टिक प्रयोग नगर्ने बानीले सर्वसाधारण उपभोक्ताको स्वास्थ्यलाई फाइदा गर्ने उनी बताउँछन् । ‘प्लाष्टिक नकुहिने रासायनिक बस्तु भएकाले यसले वातावरणलाई निकै प्रदुषित बनाउँछ । जसको असर आमउपभोक्तालाई परिरहेको छ,’ उनले भने ।

‘प्लास्टिकजन्य फोहोर जलाउँदा निस्किने विषाक्त ग्यासले क्यान्सरलगायत रोग लाग्ने, प्लाष्टिक झोलाले माटोको उर्वराशक्ति घटाउने, जमीनमा पानी रिचार्ज हुन नदिने, नाला तथा ढल जाम गरी मानव स्वास्थ्यमा प्रतिकूल असर पार्नुका साथै शहरी सौन्दर्य पनि घटाउने भएकाले यसको प्रयोगमा प्रतिवन्ध लगाएका हौं,’ महर्जनले भने– तर, आमउपभोक्ता यसमा सचेत र जिम्मेवार बन्न सकेका छैनन् । यहाँ संकलन हुने फोहोरमा करिब २५ प्रतिशत प्लाष्टिक झोला हुन्छन् ।
उपभोक्ता सचेत नबन्दा प्लाष्टिक झोलामा सामान दिनुपरेको व्यापारी गुनासो गर्छन् । धेरै उपभोक्ता भने सामान किनिसकेपछि पसलले नै वैकल्पिक झोला दिनुपर्ने मानसिकतामा भेटिन्छन् ।

सरकारले बागमती सफाइ महाअभियानको २ सय औं हप्ता पारेर राष्ट्रिय सरसफाइ अभियानसम्बन्धि १० बुँदे घोषणापत्र जारी गरेको हो ।