मानव वीर्य तस्कर पक्राउ


बैंकक, (एजेन्सी)
थाई प्रहरीले मानव वीर्य राखिएको छवटा काँचको ट्युब लाओसतर्फ तस्करी गर्न खोज्ने एक पुरुषलाई शुक्रबार नियन्त्रणमा लिएको छ। उत्तरी थाई शहर नोंग खाइबाट सीमा पार गरी लाओस छिर्न लागेका ती व्यक्तिको झोलामा रहेको एउटा नाइट्रोजन टइंकभित्र ती ट्युब भेटिएको सरकारी अधिकारीहरूले बताएका छन्।

उनले लाओसको राजधानी भियतियनस्थित एउटा प्रजनन रोग उपचार गर्ने क्लिनिकमा बेच्न सो वीर्य लाँदै गरेको प्रहरीसमक्ष कबुल गरेका छन्। छिमेकी मुलुक थाइल्यान्ड र क्याम्बोडियामा व्यावसायिक रूपमा महिलाहरूलाई भाडामा लिएर बच्चा जन्माउन दिने प्रथामाथि प्रतिबन्ध लगाइएपछि लाओसमा यो व्यवसाय निकै फस्टाउन थालेको छ।

चिनियाँ र भियतनामी पुरुषहरूबाट सो वीर्य संकलन गरिएको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ। ती थाई तस्करले आफूले यसअघि यसरी नै बैंककका क्लिनिकहरूबाट वीर्य संकलन गरी १२ पटक लाओसमा आपूर्ति गरिसकेको स्विकारेको दि बैंकक पोस्ट अखबारले जनाएको छ।

साथै उनले क्याम्बोडियाका अस्पतालहरूमा पनि वीर्य पुर्याउने गरेको बताएका छन्। सन् २०१५ मा थाई सरकारले कुनै पनि विदेशीले पैसा तिरेर थाई महिलाहरूलाई भाडाको आमा बनाउन नपाउने नियम लागू गरेको थियो। त्यसको पछिल्लो वर्ष क्याम्बोडियाले पनि सोही कानुन कार्यान्वयन गरेको थियो।