१८ नेपालीको उद्धार


काठमाडौं, (नेस)
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निर्देशन र परराष्ट्र मन्त्रालयको पहलमा मलेसियाको बुकिट जलिल क्याम्पमा कष्टकर जीवन बिताइरहेका १८ नेपालीको शुक्रबार उद्धार गरिएको छ।

विभिन्न मितिमा मलेसियामा पुगेका उनीहरूलाई व्यक्ति हत्यालगायतका अभियोगमा पक्राउ गरी बुकिट जलिल क्याम्पमा राखिएको थियो। त्यसको जानकारी पाएलगत्तै प्रधानमन्त्रीले नेपाल सरकारका सम्बद्ध अधिकारीलाई बोलाएर उनीहरूको स्थिति बुझ्न र छिट्टै उद्धार गर्न निर्देशन दिनुभएको थियो।
प्रधानमन्त्रीको निर्देशनपछि परराष्ट्र मन्त्रालयले उद्धारका लागि पहल गरेको थियो। सरकारको कूटनीतिक पहल र परराष्ट्र मन्त्रालयको समन्वयपछि वैशाख ८ गते उनीहरूको उद्धार गरी नेपाल ल्याइएको जनाइएको छ। उनीहरूको उद्धारका लागि सरकारले आफैं हवाई टिकटको व्यवस्था गरेको थियो।

उद्धार गरी नेपाल ल्याइएकामा बाँकेका शानबहादुर बुढामगर, खोटाङका ईश्वर विक, रामेछापका लाक्पा छिरी शेर्पा, मकवानपुरका सुब्बासिंह मोक्तान, बाराका सिंहबहादुर मोक्तान, ताप्लेजुङका राजेशकुमार वानेम, दाङका सुमन कुमाल, पाँचथरका फणीन्द्रबहादुर कटुवाल, सल्यानका पुष्कर बुढाथोकी, मकवानपुरका ज्ञानबहादुर मोक्तान, रूपन्देहीका अमरजित कब्रिन, पाल्पाका प्रकाश थापा, ओखलढुंगाका सुवास राई, रोल्पाका नरबहादुर घर्ती, मकवानपुरका कुमार भुलुन, रामेछापका कुमार लामा, काठमाडौंका ईश्वरी लामा तामाङ र बाँकेका सञ्जय कुमार नाउ रहेका छन्।