भर्ना शुल्क लिए कारबाही

0
Shares

सरिता चलाउने, सल्यान
ल्यानमा अझै ४ प्रतिशत बालबालिकाहरू विद्यालयको पहुँचभन्दा बाहिर रहेको पाइएको छ। हामी सबैको इच्छा, अनिवार्य निःशुल्क आधारभुत शिक्षा भन्ने मूल नाराका साथ सञ्चालन भएको विद्यालय भर्ना अभियान २०७४ का बारेमा पत्रकार भेटघाट कार्यक्रम यस्तो जानकारी गराइएको हो।

कुन वर्गका बालबालिका विद्यालयको पहुँच बाहिर छन् भनेर सर्वेक्षण गर्ने कार्य भइरहेको जिल्ला शिक्षा अधिकारी देवीप्रसाद सुवेदीले जानकारी दिनुभयो। के कारण ती बालबालिका पहुँचभन्दा बाहिर छन् त्यसको वास्तविकता बुझेर सोही अनुरूपको कार्यक्रम बनाइने सुवेदीले बताउनुभयो।

प्रायः अपांग, दुर्गम, अनाथ, विकट क्षेत्र, विपन्न वर्ग बालबालिका विद्यालयको पहुँचभन्दा टाढा रहेको पाइएको उहाँको भनाइ रहेको छ। विद्यालयको पहुँचभन्दा बाहिर रहेका ४ प्रतिशत बालबालिकालाई पनि विद्यालयको पहुँचभित्र ल्याइने सुवेदीले दाबी गर्नुभयो। उहाँले भन्नुभयो– ‘कुनै पनि बालबालिका विद्यालयको पहुँचबाट टाढा नहून् भनेर प्रत्येक विद्यालयका विद्यालय व्यवस्थापन समितिको अध्यक्षको अध्यक्षतामा र स्रोत केन्द्रको हकमा स्रोत व्यक्तिको संयोजकत्वमा भर्ना अभियान सञ्चालन गरिएको छ र भर्ना नभएका विद्यार्थीहरूको अवस्था बुझ्न भनिएको छ।’

बालबालिका विद्यालयमा नआउनुको एक कारण पाठ्यपुस्तक समयमै वितरण नगर्नु पनि रहेकाले सबै विद्यालयलाई विद्यार्थी भर्ना भएकै दिन अनिवार्य पाठ्यपुस्तक दिन आग्रह गरिएको जिशिअ सुवेदीले बताउनुभयो। उहाँले भन्नुभयो– ‘पुस्तक नपाउँदा पनि बालबालिका विद्यालय नआउने गरेको पाइएकाले प्रत्येक विद्यालयलाई भर्ना भएकै दिन अनिवार्य विद्यार्थीलाई पुस्तक दिन भनेर परिपत्र गरिसकेका छौं। जुन विद्यालयले समयमै विद्यार्थीलाई पाठ्यपुस्तक वितरण गर्न सक्दैन त्यसलाई कानुनी कारबाही गरिन्छ।’

सल्यानमा १ देखि ५ कक्षासम्म ३६ हजार ९७, कक्षा ६ देखि ८ सम्म १९ हजार ४ सय ५६, कक्षा ९ र १० मा ११ हजार २ सय ९१ गरी जम्मा ६६ हजार ८ सय ४४ विद्यार्थी विद्यालयको पहुँच भित्र रहेका छन्।