राप्रपाको आन्दोलन स्थगित


नेपाल समाचारपत्र
काठमाडौँ
राप्रपाले निर्वाचन आयोगको गरिमा र संवैधानिक हैंसियतबारे आफ्नो पार्टी पूर्ण रूपमा सचेत रहेको जनाएको छ।

आयोगले बुधबार जारी गरेको प्रेस विज्ञप्तिप्रति आफ्नो दल ध्यानाकर्षित भएको जनाउँदै राप्रपाले एक जिम्मेवार राजनीतिक दलका रूपमा पार्टीले सञ्चालन गरेको र गर्ने कार्य संविधान र प्रचलित कानुनअनुरूप रहने स्पष्ट गरेको छ।

पार्टी प्रवक्ता सुशीलकुमार श्रेष्ठद्वारा बिहीबार जारी प्रेस विज्ञप्तिमा भनिएको छ– ‘स्थानीय तहको निर्वाचन मुख्य एजेन्डा भएको र निर्वाचन सुनिश्चितता प्राथमिकता भएको हुँदा निर्वाचन आयोगले पार्टीको मागबमोजिमको विषय हाल कार्यान्वयन नगर्ने निर्णय गरेको तथ्यसमेतलाई दृष्टिगत गर्दै पार्टीले सञ्चालन गर्ने सङ्घर्षका कार्यक्रम अहिलेलाई स्थगन गरिएको छ।’

यद्यपि पार्टी विधान संशोधन गर्ने आयोगको निर्णय पूर्ण रूपमा नसच्याइएसम्म राप्रपाको विरोध जारी रहने र आगामी चुनावमा समेत सो विषयलाई उठाइने राप्रपाले जनाएको छ। पार्टी विधानको प्रस्तावना र उद्देश्यमा रहेको ‘सर्वधर्म समभाव र पूर्ण धार्मिक स्वातन्त्रतासहितको सनातन हिन्दू राष्ट’ एवम् ‘राजसंस्थासहितको लोकतन्त्र’ रहेको वाक्यांश हटाउने आयोगको निर्णयप्रति असहमति जनाउँदै आएको विज्ञप्तिमा उल्लेख छ।

यसैबीच सो पार्टीको आकस्मिक केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार बिहान ९ बजे धुम्बाराहीस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने भएको छ।