कार्कीलाई राष्ट्रिय अभिनन्दन


फिल्म निर्देशक, गीतकार तथा लेखक चेतन कार्की राष्ट्रिय अभिनन्दनद्वारा सम्मानित भएका छन्। राष्ट्रिय अभिनन्दन समितिले मंगलबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी ताम्रपत्रसहित नगद १ लाख रुपियाँ प्रदान गरेको छ।

शुभारम्भ द म्युजिक जर्नी मूल आयोजक रहेको कार्यक्रममा फिल्म एन्ड याड फिल्मको तर्फबाट गेहेन्द्र धिमालले २ लाख रुपियाँ र सम्मानपत्रद्वारा सम्मान गरेका थिए। त्यसै गरी कलानिधि, ललितकला केन्द्रलगायतका विभिन्न संघ–संस्थाले उनलाई सम्मान गरेका थिए। कार्यक्रमका प्रमुख अतिथि तथा संस्कृतिविद् सत्यमोहन जोशीले कार्कीलाई सम्मान गरेका थिए।

सम्मानित भएपछि कार्यक्रममा बोल्दै कार्कीले राजनीतिक दलका तर्फबाटभन्दा पनि कला संस्कृतिविद् सत्यमोहन जोशीबाट सम्मान ग्रहण गर्न पाउँदा आफूलाई निकै खुसी लागेको बताए। ‘यो सम्मानका लागि म योग्य थिएँ कि थिइन, थाहा छैन। तर, यो सम्मान राष्ट्रको धरोहर सत्यमोहन जोशीबाट ग्रहण गर्न पाउँदा म निकै खुसी छु –उनले खुसी व्यक्त गर्दै भने।
त्यसै गरी कार्यक्रमका प्रमुख अतिथि तथा संस्कृतिविद् सत्यमोहन जोशीले यस्तो खालका सम्मान राष्ट्रियस्तरबाट हुनुपर्नेमा जोड दिए। ‘राष्ट्रियस्तरबाट हुनुपर्ने यस्ता सम्मान तथा कार्यक्रम जनस्तरबाट भएको छु –उनले भने।

कार्यक्रममा अभिनेता रवीन्द्र खड्काले चेतन कार्कीको सम्मानस्वरूप उनैद्वारा मायाप्रीति नामक फिल्मका लागि रचित घोडा चढे लडिन्छ भो अहँ म चढ्दिन बोलको गीत सुनाएका थिए। मायाप्रीतिको सो गीतमा रवीन्द्रले अभिनय गरेका थिए।

लेखक, फिल्म निर्देशक तथा राष्ट्रिय अभिनन्दन समितिका संयोजक प्रकाश सायमीले राष्ट्रियस्तर नभए पनि आफूहरुको तर्फबाट नेपाली कला जगत्लाई निकै ठूलो योगदान दिने व्यक्तित्व चेतन कार्कीलाई सम्मान गर्न पाउँदाको पल निकै सुखद भएको बताए।