अमेरिकामा फिल्म पढ्दै पाइलट बने टासी


विदुर गिरी

नृत्य निर्देशक तथा फिल्म निर्देशक हिमग्याप (टासी) लामा अब पाइलट पनि भएका छन्। अध्ययन र अन्य कामको सिलसिलामा नेपाल र अमेरिकालाई पानीपँधेरो बनाइरहेका उनले अमेरिका बसाइकै क्रममा पाइलट ट्रेनिङ लिएका हुन्।

सहायक नृत्य निर्देशक र नृत्य निर्देशकदेखि फिल्म निर्देशकसम्म पैmलिएका टासीले पाइलट कोर्ष गरी त्यसको लाइसेन्ससमेत लिनु फिल्म क्षेत्रकै लागि गौरवको विषय बनेको छ।

हालको अवस्थामा अमेरिका गएर पाइलट कोर्ष गर्नु नै भाग्यको कुरा हुने गरेको छ, त्यसमाथि फिल्म क्षेत्रको व्यक्तित्वले यो कोर्ष गरेर पाइलट हुनु अर्को सुखद पक्ष बन्न पुगेको छ। सन् २००१ मा सेप्टेम्बर ११ तारिकमा ट्विन टावर आक्रमणपछि अमेरिकाले पाइलट कोर्ष गर्न चाहना विदेशीहरुको पृष्ठभूमिका साथ टीएसए (ट्रान्सपोर्टेसन सर्भिस एडमिस्टे«सन) गम्भीररूपमा चेक गर्न थालेको छ। एसियन मुलुकका नागरिकलाई अझ बढी निगरानीमा राख्ने गरेको छ। ‘त्यसबाट पास हुनु नै ठूलो कुरो हुने रहेछ।
त्यसपछि मेडिकल चेक, इन्स्टिच्युटको ब्यागग्राउन्डका काुराहरु त छँदै छन्। धेरैलाई त टीएसएबाटै रिजेक्ट गर्दोरहेछ। यस्तोमा सबै परीक्षण पास गरेर पाइलट बन्न सक्नु वास्तवमै ठूलो कुरा हुने रहेछ’ –विमानचालकको लाइसेन्स प्राप्त गरी नेपाल फर्केपछि नेपाल समाचारपत्रसँग कुरा गर्दै टासीले भने।

उनले लस एन्जलस, क्यालिफोर्नियास्थित पाइलिटङ सिकाउने पुरानो इन्स्टिच्युट अमेरिकन फ्लायर्सबाट ट्रेनिङ लिएका हुन्। जहाँ पुगेर पाइलट कोर्ष गर्ने नेपाली उनी नै पहिलो रहेछन्। ‘कोही नेपाली नै पुगेको रहेनछ त्यहाँ, भारतीयसमेत पुगेका रहनेछन्। उनीहरुले नेपाल भन्नेवित्तिकै अचम्म माग्ने।

वास्तवमा आर्थिक, अध्ययन र समय लगानीका हिसाबले यो कोर्ष गर्न कठिन रहेछ’, टासीले सुनाए– ‘देश नयाँ ढाँचामा गएपछि पर्यटनको क्षेत्रमा धेरै गर्न सकिन्छ कि, पछि साथीहरुसँग मर्च गरेर प्लेन लिन पनि सकिन्छ र आफ्ना गाउँघर तथा देशमा केही गर्न सकिन्छ कि भनेर पनि यसको ट्रेनिङ लिएको हुँ। जुन काम वा व्यवसाय गर्ने हो, त्यसकै विज्ञ भए सजिलो हुन्छ र नयाँ ज्ञान पनि पाइन्छ भन्ने सोचले पाइलट कोर्ष पूरा गरेर फर्केको हुँ।’ उनको भनाइ छ– ‘त्यतिखेर मुगु जान फुटपाथमा कयौं दिन सुतेर आरएनसीको फ्लाइटको टिकट काट्नुपथ्र्यो। आजको दिनसम्म हप्तौं दिनसम्म पनि मौसमका कारणले प्लेन उड्नै सक्दैन। त्यही पीडाले पनि पाइलट ट्रेनिङ लिएको हुँ।’

उनले एयरलाइन्स बिजनेस गर्ने योजना पनि बुनेका रहेछन्। ‘मुख्य मिसन त्यो हो। कर्णालीसँग रिलेटेड नाम राखेर पार्टनरसिपमा एयरलाइन्स सञ्चालनमा ल्याउने सोच छ। स्वदेशी विदेशीसँग कुरा पनि भइरहेको छ’,

उनी थप्छन्– ‘मेरो अनुभवमा हरेक व्यक्तिले पाइलट सिक्नुपर्ने रहेछ। यसबाट धेरै ज्ञान र सीप पाइँदोरहेछ। म त झन् दुर्गम कर्णालीको मान्छे। जहाँको मान्छेलाई चामल ढुवानी गर्न पनि गाह्रो छ। धेरै संघर्ष गर्नुपर्छ। अन्यथा कलाकार भनेको गरिब दुःखी मानिन्छ। तर, आफैंलाई पनि अचम्मसँगै खुसी लागेको छ कि समय र अवसर पायो भने त यो क्षेत्रको मानिसले पनि अमेरिका गएर पाइलटसमेत सिक्न सक्दोरहेछ।’

टासीले अमेरिकामा सिंगल र डबल इन्जिनका सानो प्लेन उडाउने प्रशिक्षण लिएका हुन्। ‘फ्लाइट र ग्राउन्डको दुई थरी ट्रेनिङ हुँदोरहेछ। शुरुमा भन्दा कोर्षमा ५०÷६० घण्टाको ट्रेनिङ हुन्छ भने पनि ८ महिनामा सय–सय घण्टा गरेर २ सय घण्टाको ट्रेनिङ भयो’, टासीले शेयर गरे– ‘ट्रेनिङ चार्ज र सामान गरेर ४५ हजार डलर आर्थात् ५० लाख नेपाली खर्च भयो। कोर्षलाई मात्र होइन, मेन्टन गर्न पनि खर्च हुँदोरहेछ। यसरी हेर्दा हामीजस्तो कर्णालीको मानिसलाई खर्चले धान्न धौ–धौ पर्दोरहेछ, पुँजीपतिले मात्र गर्न सक्नेरहेछ।’
भीमदत्त निर्देशक टासीले यो कोर्षपछि साथीभाइ राखेर वा निजी उडान गर्न मिल्छ। तर, कमर्सियल्ली उडान भर्नका लागि भने थप कोर्ष गर्नुपर्ने हुन्छ। ‘कमर्सियल फ्लाइटका लागि पनि कोर्ष गर्ने सोचमा छु –उनले भने। टासी खास फिल्म मेकिङ पढ्न अमेरिका हानिएका थिए। उनले न्युयोर्क फिल्म एकेडेमीबाट ९ महिने कोर्ष पूरा गरिसकेका छन् भने लस एन्जलस सिटी कलेजमा पोल्टिकल साइन्स र फिल्म मेकिङको कोर्ष गरिरहेका छन्।
मुगुम जातिका यी फिल्मकर्मीले करिब ४ दर्जन फिल्ममा सहायक नृत्य निर्देशक भएर कामा गरेका छन् भने आधा दर्जनजति फिल्ममा नृत्य निर्देशकका रूपमा काम गरेका छन्। भीमदत्त नामक ऐतिहासिक फिल्मको निर्देशन गरेका अर्को फिल्मका लागि स्क्रिफ्टको तयारी गरिरहेका छन्।