नयाँ वर्षपछि शेयर बजारमा लगानीकर्ताले १११ अर्ब गुमाए


नेपाल समाचारपत्र
काठमाडौं
नयाँ वर्ष शुरू भएपछि शेयर बजारका लगानीकर्ताले नाफा कमाउन सकेका छैनन्। नयाँ वर्षपछिका दुवै दिनको कारोबारमा नेप्से उच्च अंकले घटेको छ। यसै क्रममा मंगलबार नेप्से ३९ दशमलब ५७ अंकले घटेर १६१२ दशमलब शून्य ४ अंकमा झरेको छ। यस दिन समग्र पुँजीकरण ४५ अर्बले घटेर १८ खर्ब ५३ अर्ब रुपियाँ कायम भएको नेपाल स्कट एक्सचेन्जले जनाएको छ।

यसअघि आइतबार नेप्से ४५ दशमलब ५२ अंकले घट्दा समग्र बजार पुँजीकरण ६६ अर्ब रुपियाँले घटेको थियो। जसका कारण नयाँ वर्ष लागेपछि पुँजीबजारका लगानीकर्ताले १ खर्ब ११ अर्ब रुपियाँ गुमाएका छन्।

वर्ष २०७३ को अन्त्य हुँदा समग्र बजार पुँजीकरण १९ खर्ब ६४ अर्ब रहेको थियो। अघिल्लो महिना राजनीतिक वातावरण केही सहज देखिएका कारण नेप्से सुधारिएको भए पनि नयाँ वर्षको शुरूआतसँगै राजनीतिक महोलमा परिवर्तन आएको र मधेसवादी दलले बन्द, हड्तालका कार्यक्रम सार्वजनिक गरेपछि लगानीकर्तामा निराशा छाएको छ। त्यस्तै बैंकहरूले बचत खातामा ब्याजदर वृद्धि गरी ८ प्रतिशतको हाराीमा पुर्याएपछि त्यसको प्रत्यक्ष असर शेयर बजारमा पर्न गएको स्कट ब्रोकरहरूको भनाइ छ।

कूल १४२ कम्पनीको २२ लाख ९ हजार ९३१ कित्ता शेयर १ अर्ब ५० करोड ९४ लाख ८८ हजार ८२८ मूल्यमा बिक्री भएकोे थियो। मंगलबार नेप्से दुई घण्टाको अवधिमा ४६ अंकको हाराहारीमा घटेको भए पनि पछिल्लो समयमा केही सम्हालिएका कारण बजार बन्द हुने समयसम्म ३९ दशमलब ५७ अंकले मात्र झरेको थियो। यसदिन एभरेस्ट बैंकको सबैभन्दा धेरै ७ करोड २७ लाख रुपियाँबराबरको शेयर किनबेच भएको थियो। त्यस्तै सानिमा बैंकले पनि ७ करोड रुपियाँभन्दा बढीको कारोबार गरेको थियो।

बजार उच्च अंकले घट्दा पनि अरूण काबेलीको करिब १० प्रतिशतले बढेको छ। त्यस्तै लक्ष्मी बैंकको शेयर मूल्य ६ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ। मंगलबार गोर्खाज फाइनान्स, सूर्योदय लघुवित्त, युनाइटेड फाइनान्स, रिलायबल माइक्रोलगायतका कम्पनीका लगानीकर्ता धेरै कमाउनेको सूचीमा परेका छन् भने विजय लघुवित्त र एभरेस्ट बैंकका लगानीकर्ताले करिब १० प्रतिशत गुमाएका छन्।

मंगलबार बैंकिङ समूह ४४ दशमलब शून्य ७, होटल ४६ दशमलब ३७, विकास बैंक ३८ दशमलब ८७, जलविद्युत् ७१ दशमलब २४, फाइनान्स समूह १ दशमलब ९५, बीमा समूह १८४ दशमलब ४७ र अन्य समूह ६ दशमलब शून्य ७ प्रतिशतले घटेको छ।