भक्तपुरमा पौभा प्रदर्शनी


नेपालको पुरानो मौलिक कलाको रूपमा अन्तर्राष्ट्रियरूपमा परिचित पौभा कला प्रदर्शनी भक्तपुरमा शुरु भएको छ। शनिबार नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले प्रदर्शनीको शुभारम्भ गर्दै नेपालको मौलिक कलाको संरक्षणमा सबै मिलेर काम गर्नुपर्नेमा जोड दिए।

‘नेपाली कलाको मौलिकतालाई बचाउन राज्य लाग्नुपर्छ’ –उनको भनाइ थियो। प्रदर्शनीको छेको पारेर वरिष्ठ पौभा कलाकार मुक्तिसिंह थापा र नारायणलक्ष्मी कारञ्जितलाई सम्मान तथा अभिनन्दन पनि गरियो। कार्यक्रममा संस्कृतिविद् सत्यमोहन जोशीले पौभा कलाको महव र यसको ऐतिहासिक पक्षका बारेमा चर्चा गरेका थिए। पौभा कलाका क्षेत्रमा लाग्ने कलाकार संख्या बढ्दै गएको आयोजक संस्था ख्वप पौभा च्वमी पुचःका सचिव पूर्ण पैसाद हेुजुले बताए। पौभाले नेपाली कलालाई अन्तर्राष्ट्रियरूपमा चिनाउन सकेको जनाउँदै हेुजुले भने– ‘पौभामा नेपाली मौलिक विशेषता र शैली रहेको छ। यसको विशेषता र शैलीले विदेशीलाई आकर्षित गरेको छ।’

शुभारम्भ कार्यक्रममा कला सड्ढलक निलकृष्ण ताम्राकारले नेपाली कलाको संरक्षणमा एकजुट भएर लाग्नुपर्ने बताए। पाँच दशक लामो समयसम्म काम गरेका कलाकारलाई जिउँदो सम्पदाको रूपमा सम्मान गरिनुपर्ने चर्चा गर्दै वरिष्ठ पौभा कलाकार दीपक जोशीले नेपाली कलालाई चिनाउने कलाकारको सम्मान राज्यले गर्न नसकेको बताए। नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले काम गर्न नसकेकोमा लज्जाबोध भएको जनाउँदै प्राज्ञ परिषद् सदस्य निमा लामाले भने– ‘परम्परागत कलाकारहरूले यत्ति सुन्दर प्रदर्शनी गर्नुभएको छ। प्रतिष्ठानको ओहोदामा बसेर काम गर्न नसक्नुमा लज्जाबोध भएको छ।’

प्रदर्शनीमा नेपालका वरिष्ठदेखि नयाँ पुस्ताका ८५ जना पौभा कलाकार सहभागी भएका छन्। नेपाली कलाको लामो इतिहास बोकेको पौभा कलाले नेपाललाई अन्तर्राष्ट्रियरूपमा चिनाउन सकेको छ। पौभा कला बौद्ध तथा हिन्दु दर्शनमा आधारित हुन्छ।

पुचःले छैठौंपटक पौभा प्रदर्शनीको आयोजना गरेको हो। ग्यालरीको अभावका कारण ख्वप छें गेस्ट हाउस, भक्तपुर दरबार क्षेत्रमा यो प्रदर्शनी राखिएको कार्यवाहक कोषाध्यक्ष हरिप्रसाद वैद्यले बताए। प्रदर्शनीले नयाँ कलाकारमा उत्साह भरेको चर्चा गर्दै सहभागी कलाकार राजकुमार रानामगरले भने– ‘यस्ता बृहत् कला प्रदर्शनीले परम्परागत कलाका क्षेत्रमा लाग्ने सबैमा नयाँ ऊर्जा भर्न सघाउने विश्वास लिन सकिन्छ।’

प्रदर्शनीमा प्रेममान चित्रकार, सूर्यबहादुर चित्रकार, कृष्णराम चित्रकार, स्व. ज्ञानकर वज्राचार्य, न्हुच्छेकाजी वज्राचार्य, लोक चित्रकार, उदयचरण श्रेष्ठ, दीपक जोशी, पूर्ण हेुजु, सुन्दर सिंख्वाल, रत्नगोपाल सिंख्वाल, मुक्तिसिंह थापा, शंकरकुमार जोशी, नारायणलक्ष्मी कारञ्जित, हरिप्रसाद वैद्य, कृष्णराम ध्येमोसु, बलराम न्हिसुतु, रेशमकाजी चित्रकार, उजय वज्राचार्य, कोमलनारायण श्रेष्ठ, देवकृष्ण मर्हजन, देवेन्द्र सिंख्वाल, महेन्द्र सिंख्वाल, माइला दोङ, योगेन्द्र शाक्य, रवीन्द्र मुनिकर्मी, राजकुमार रानामगर, राजप्रकाश तुलाधर, रामप्रकाश श्रेष्ठ, रितेश शाही, शुक्रराज तामाङ आदि कलाकार सहभागी छन्। प्रदर्शनी भोलि मंगलबारसम्म चल्नेछ।