हमालद्वारा वैशाखी वितरण


नयाँ वर्ष २०७४ को अवसरमा नायक राजेश हमालले अपांगता भएका व्यक्तिलाई ह्विलचियर, सेतो छडी र वैशाखी वितरण गरेका छन्। गोकर्णेश्वर नगरपालिका–६ जोरपाटीस्थित मुख्य सडकमै युवा अपांग संगठन नेपालले आयोजना गरेको कार्यक्रममा नायक हमालले ३५ जनालाई ह्विल चियर, २८ जनालाई वैशाखी र १५ जना दुष्टिविहीनलाई सेतो छडी प्रदान गरेका हुन्।

‘सपांग व्यक्तिहरूभित्र पनि अपांगता हुन्छ। तर, उहाँहरूलाई समाजले हेर्ने नजरमा केही फरक भएका कारण अपांग व्यक्तिलाई हेर्ने नजरमा केही भिन्नता देखिएको मात्र हो’ –हमालले कार्यक्रममा भने। उनले अपांगता भएकालाई सहयोग गर्न सबैलाई आग्रहसमेत गरे। संगठनका अध्यक्ष प्रकाश श्रेष्ठले संस्थाले विभिन्न स्थानमा सहयोगलाई निरन्तरता दिने उल्लेख गरे।

युवा उद्यमी एवं फिल्म निर्माता अक्कल सिहले संस्थाले गरेको सहयोगले अपांगता भएकाले ठूलो सहयोग महसुस गरेको बताए। कार्यक्रममा करिब २ लाख रुपियाँ बराबरको सामग्री हस्तान्तरण गरिएको थियो। नायक हमालले समाज सेवाको क्षेत्रमा आफ्नो सधैं सहभागिता रहने बताए।