अभिनेता क्षत्रीले पाउने भए उपचार


रश्मी थापा
अभिनेता दीपक क्षत्रीले लगभग आफ्नो सिंगो जीवन कलाकारितामा बिताए, नाटकदेखि सानो र ठूलो पर्दाका फिल्ममा अभिनय गर्दै आफ्नो जीवन कला क्षेत्रकै लागि समर्पित गरे। तर, जब उनी घाँटीको समस्याका कारण अस्वस्थ भए, उपचार गराउनसमेत असमर्थ भए। सहयोगका लागि अनुनय विनय गरे, र पनि लाखौं रकम चाहिने भएकाले उपचार पाउन सकेनन्।

करिब ४ वर्षअघि घाँटीमा असहज महसुस हुन थालेपछि कलाकार दीपक क्षत्री उपचारका लागि सिभिल हस्पिटल गए। चिकित्सकले उनको घाँटीमा मासु पलाएको र पहिलेकै अवस्थामा फर्कनका लागि अपरेसन गर्नुपर्ने र अपरेसनका लागि ५ देखि १० लाख रुपियाँको आवश्यकता पर्नेसमेत बताएपछि उनी वीर अस्पताललगायत काठमाडौंका नाम चलेका सम्पूर्ण अस्पतालहरू धाउन थाले।

सबैतिरबाट अप्रेसन नै गर्नुपर्छ भन्ने उस्तै सल्लाह पाएपछि उनी २०७१ मंसिरमा उपचारका लागि भारतको सिलुगढी गए। सिलुगढीमा आफन्तहरू पनि भएकाले उपचारमा सहयोग र उपचार राम्रो हुने आशाले सिलुगढीतर्फ लागेका उनी करिब एक महिनासम्मको अस्पतालको बसाइपश्चात् अपेक्षाअनुसार उपचार रकम जुटाउन नसकेपछि निराश हुँदै फेरि काठमाडांै नै फर्किए। अस्पतालबाट दिएको विभिन्न औषधिले पनि काम नगरेको र अप्रेसनका लागि आर्थिक अभाव भएपछि उनी अप्रेसन नगरी काठमाडौं फर्किएका थिए।

घाँटीमा मासु पलाए पनि नदुख्ने भएकाले उनले सिलुगढीबाट फर्कंदा ल्याएका औषधि केही समय मात्र प्रयोग गरे। अस्वस्थताका बावजुद निरन्तर कलाकारितामा लागि रहेका उनको उपचारको लागि कही कतैबाट पनि पहल हुन सकेन। औसधी सेवनपश्चात पनि केही सुधार नभएपछि उनी पछिल्लो समय कुनै पनि औषधि सेवन गरेका थिएनन्। तर, उनको स्वरमा भने निकै परिवर्तन आएको छ। करिब एक महिनाअघिबाट घाँटीमा दुखाइ पनि शुरु भएपछि उनी थप दुःखी थिए। सिलुगढीबाट फर्किएपछि पनि उपचारको पहल गरेका उनी उपचारका लागि सहयोग नपाउँदा हाल उनी राम्रोसँग बोल्न नसक्ने अवस्थामा छन्। आफूले काठमाडौंका सम्पूर्ण अस्पतामा जचाइसकेको र अन्तिम उपचार अप्रेसन नै भएको दीपकले नेपाल समाचारपत्रलाई बताए। ‘काठमाडांैका सम्पूर्ण अस्पतालमा परीक्षण गराइसकेको छु।

उपचारका लागि सिलुगढीमा पनि गयौं। तर, रकम अभाव भएकाले अहिलेसम्म पनि उपचार गर्न सकेको छैन’, घाँटीको समस्या वृद्धि भई केवल श्वासले अस्पष्ट बोल्न बाध्य उनले भने– ‘हाल आएर चलचित्र पत्रकार संघका अध्यक्ष सन्दीप सापकोटालगायतका दाजुभाइहरूको सक्रियतामा सहयोग उठिरहेको छ। चलचित्र विकास बोर्डले ५० हजार दिन्छु भनेको छ। विभिन्न ठाउँबाट सहयोग जुट्ने क्रम बढिरहेको छ। अब सहयोग मिल्यो भने राम्रोसँग उपचार गराउने सोच छ। ठीक भएर फेरि नेपाली फिल्म क्षेत्रकै सेवा गर्ने सोच छ।’
४ वर्षदेखि अस्वस्थ रहेको भए पनि उनी नेपाली सिनेमामा फाटफुट भने देखिँदै आएका छन्। नाटकदेखि सानो र ठूला पर्दाका दर्जनौं फिल्ममा विशेष गरी खलभूमिकामा अभिनय गरी दर्शकको मन जित्दै आएका उनले ३ दशक लामो कलायात्रामा पृथ्वी, माझी दाइ, बाटोमुनिको फूल, सेतो सूर्यलगायतका २ सयभन्दा बढी नेपाली फिल्ममा अभिनय गरेका छन्।
‘घाँटीमा पलाएको मासु निकाल्नका लागि अप्रेसन गर्नुपर्ने डाक्टरहरूको सल्लाह थियो। त्यसका लागि ५ देखि १० लाख लाग्छ भन्ने सुनेपछि थप उपचारको आँट आएन। कलाकारको जिन्दगी हातमुख जोर्न त लगभग समस्या हुँदैन तर उपचारका लागि त्यति धेरै पैसा थिएन। त्यही बेलादेखि नै विभिन्न संघ–संस्था तथा व्यक्तिसँग पनि उपचारका लागि सहयोगको माग्दा कतैबाट पनि सहयोग भएन। अहिले बल्ल विभिन्न ठाउँबाट सहयोग आइरहेको छ। गत चैत ३१ गते सन्दीप भाइ र निर्देशक निर्मल शर्माले हिमाल हस्पिटलमा लगेर परीक्षण गराउनुभयो। उहाँ अहिले एन्टिब्याटिक लिइरहनुभएको छ’ –कलाकार तथा उनकी श्रीमती विपना बस्नेतले भनिन्।
नेपाल सरकार तथा अन्य संघ–संस्थाले पनि उपयुक्त सहयोग नगरेको अवस्थामा चलचित्र पत्रकार संघ नेपालका अध्यक्ष सन्दीप सापकोटाको पहलमा हालसम्म २ लाख रुपियाँ संकलन भएको छ।

अमेरिकाबाट आयो ५ लाख


आर्थिक अभावका कारण घाँटीमा पलाएको मासुको सल्यक्रिया गर्न असमर्थ भएका अभिनेता दीपक क्षत्रीको उपचारमा सघाउन अमेरिकामा रहेका नेपाली कलाकर्मीले सहयोग गरेका छन्।

उनको उपचार सहयोगार्थ सञ्चालित आर्थिक संकलन अभियानअन्तर्गत हालसम्म करिब ९ लाख ११ हजार रुपियाँको प्रतिबद्धता प्राप्त भएको र केही रकम उठिसकेको अमेरिकाबाट फिल्म निर्देशक सुरेशदर्पण पोखरेलले जानकारी गराएका छन्।

उनका अनुसार हालसम्म करिब ५ लाख ४० हजार रुपियाँ संकलन भएको छ भने गोफन्डमी नामक च्यारिटी वेबसाइटमार्फत् कलाप्रेमीबाट करिब ३ लाख ७० हजार रुपियाँ संकलन भएको छ। यो रकमलाई दुई चरण गरेर आदरणीय दीपकलाई उपलब्ध गराइने निर्णयबमोजिम पहिलो चरणमा ५ लाख रुपियाँ आइतबार दिउँसो दीपककै निवासमा अभिनेतृ पूजा चन्द (लामा) ले दीपक र उनकी श्रीमती विपना बस्नेतलाई हस्तान्तरण गरिन्।

५ लाख रुपियाँ दीपकको तत्काल उपचारमा प्रयोग हुने र दोस्रो चरणको रकम उनको उपचारपछिको अन्य अत्यावश्यक खर्चमा प्रयोग गरिने बताइको छ।

यूकेबाट ३ लाख सहयोग

अभिनेता दीपक क्षत्रीको उपचारमा सहयोग पुर्याउन यूकेबाट पनि सहयोग प्राप्त भएको छ। क्षत्री समाज यूकेको तर्फबाट प्राप्त ३ लाख रुपियाँ हिजो राजधानीमा आयोजित एक समारोहबीच अभिनेता कृष्ण मल्लले क्षत्रीलाई हस्तान्तरण गरे। मल्लले अभिनेतृ जाह्नवी बोहराको पहलमा यूकेबाट सो रकम सहयोग भएको जानकारी गराए। सो रकम समाजका पूर्वअध्यक्ष प्रेम खड्काले लिएर आएका थिए। उनले समाजबाट यसपछि पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा बोल्दै अभिनेता मल्लले चलचित्र पत्रकार संघलाई दीपकको स्वास्थ्योपचारका लागि पहल गरेकोमा आभार प्रकट गरे। त्यसै गरी संघका अध्यक्ष सन्दीप सापकोटाले संघले चलचित्र पत्रकारसँगै सेलिब्रेटीको दुःखमा पनि साथ दिने बताए।

उनले दीपकलाई २५ लाख रुपियाँ सहयोग मिल्ने देखिएको बताए। अभिनेता क्षत्री चिकित्सककको सल्लाहबमोजिम भ्वाइस रेस्टमा बसेकाले उनको तर्फबाट अभिनेतृ पत्नी विपना बस्नेतलाई सहयोग गर्नेहरूप्रति आभार प्रकट गरिन्।