विकास खर्च एक तिहाईमात्र


हेटौंडा, (नेस)

हेटौंडा उपमहानगरपालिकाले दोस्रो चौमासिक अवधिको समीक्षा गरेको छ। दोस्रो चौमासिकसम्म हेटौंडा उपमहानगरले विकास खर्च भने एक तिहाई मात्र खर्च गरेको छ।

सरकारले खर्च प्रगति बढाउने लक्ष्यसहित चालू आर्थिक वर्षको बजेट आर्थिक वर्ष शुरु हुनुभन्दा १५ दिनअघि सार्वजनिक गरेको थियो। तर, हेटौंडा उपमहानगरपालिकाको खर्च प्रगति भने न्यून छ। हेटौंडा उपमहानगरपालिकाले चालु आर्थिक वर्षका लागि २१औं नगरपरिषद्मार्फत् ३४ करोड ५६ लाख विकास खर्च विनियोजन गरेको थियो। तर, चालू आर्थिक वर्षमा भएको २२औं नगरपरिषद्ले संशोधित बजेट तथा कार्यक्रम प्रस्तुत गर्दै चालु आर्थिक वर्षको विकास खर्च ५६ करोड ९२ लाख रुपियाँ हुने अनुमान गरेको थियो।

भूकम्प प्रभावित जिल्लाका ५ वर्षभन्दा कम उमेरका बालबालिकालाई पोषण भत्तावापत प्रतिबालबालिका ४ हजारका दरले अनुदान रकम वितरण गरेसँगै हेटौंडा उपमहानगरपालिकाको विकास खर्चको दर बढेको देखिन्छ। हेटौंडा उपमहानगरका बालबालिकालाई प्रथम चौमासिकमा ४ करोड ७२ लाख रुपियाँ पोषणभत्ता वितरण गरिएको थियो।

चालू आर्थिक वर्षको पहिलो चौमासिक अवधिमा १५ करोड ३२ लाख रुपियाँ विकास खर्च गरेको उपमहानगरले दोस्रो चौमासिक अवधिमा ४ करोड ८२ लाख रुपियाँ मात्र विकास खर्च गरेको छ। चालू आर्थिक वर्षको अन्तिमसम्म ८० प्रतिशत विकास खर्च पनि नसकिने नगरपालिकाका अधिकारीको भनाइ छ। नगरपालिकाका कर्मचारीहरू जिम्मेवार नहुनु, जनशक्ति अभाव हुनु विकास खर्च हुन नसक्नुका प्रमुख कारण हुन्।

उपमहानगर एक अधिकारी भन्छन्–‘काम गर्ने मनस्थितिका कर्मचारीको अभाव छ। भौतिक निर्माणमा प्राविधिक जनशक्ति अभाव र कामको चाप बढी छ। जसले खर्च बढाउनै सकिन्न।’ सशर्त अनुदान रकम ५० प्रतिशत पनि खर्च गर्न नसकिने अवस्था रहेको ती अधिकारीको भनाइ छ।

चालू आर्थिक वर्षमा नगरपालिकाले शून्य पेश्की नीति लिनु, उपभोक्ता समितिको लागत रकम नगरपालिकाले आफ्नो खातामा जम्मा नगरी उपभोक्ता समितिकै खातामा जम्ममा गरिनुले पनि खर्च केही कम देखिएको ती अधिकारीले स्पष्ट पारे। उपमहानपालिकाको चालू खर्च ५६ प्रतिशतअर्थात् ५ करोड ५५ लाख रुपियाँ छ। पुँजीगत खर्च अर्थात् विकास खर्च कम हुँदा भौतिक निर्माण, विकास निर्माणका कार्यहरू हुन सक्दैनन्। कर्मचारीकै चासो र सक्रियता अभावमा नगरको विकासमा बाधा पुगिरहेको छ। उपमहानगरको आयमा पनि कमी देखिन्छ।
आन्तरिक आय ६८ प्रतिशत छ। बाह्य आम्दानी ३७ प्रतिशत मात्र छ। उपमहानगरले चालु आर्थिक वर्षमा आन्तरिक आय कुल १२ करोड ६१ लाख अनुमान गरेकोमा दोस्रो चौमासिक अवधिसम्ममा ९ करोड ९७ लाख आम्दानी भइसकेको छ। बाह्य आम्दानी भने ४० करोड ८० लाख अनुमान गरिएकोमा दोस्रो चौमासिक अवधिसम्ममा १५ करोड १९ लाख रुपियाँमात्र आम्दानी भएको छ।

चालू आर्थिक वर्षको विकास बजेट खर्चिनुपर्ने मुख्य समयमा सरकारले स्थानीय तह निर्वाचनको कार्यक्रम राखेकाले खर्च अनुपात अझै खुम्चन सक्ने अनुमान गर्न सकिन्छ।