पूर्वराजाले मागे ११ वर्षको हिसाब किताब

0
Shares

काठमाडौं, (नेस)
पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्ष २०७४ को अवसरमा बिहीबार एक शुभकामना सन्देश दिँदै विगत ११ वर्षमा के भयो भनेर गम्भीर प्रश्न उठाउनुभएको छ।

उहाँले दिनुभएको शुभकामना सन्देशमा भनिएको छ– ‘अतीतका कतिपय आदर्शलाई जीवन्त राख्दै आगतलाई अझ चहक बनाउँदै लैजानु समयको माग हो। विगत ११ वर्ष के कसरी बिते ? यो अवधिमा के के भए ? यस अवधिमा तमाम नेपाली दिदीबहिनी दाजुभाइको सामाजिक, आर्थिक तथा नागरिक हकहितमा के कति सुधार आयो ? देशको अखण्डता, एकता एवं सार्वभौम स्वतन्त्रतामाथि आँच नपुगोस् त्यो यतिखेर सोचनीय विषय हो।’

‘२०६३ सालमा जनचाहनालाई विचार गरी राजनीतिक दलका नेताहरूसँग बनेको सहमतिअनुसार संसद् पुनःस्थापना गरिँदा राजनीतिक संकट अन्त्य भई मुलुकमा शान्ति, स्थायित्व र सम्वृद्धिको द्वार खुल्ने अपेक्षा हामी सबैले राखेका थियौं’, उहाँले अगाडि भन्नुभएको छ– ‘संसद् पुनःस्थापनापछि पूर्वसहमति प्रतिकूल निर्णय हुँदै जाँदा पनि हामी सबैले देशको भविष्य र जनताको हितलाई केन्द्र बिन्दुमा राखी मौनतापूर्वक साथ दिएका हौं।’

यस अवधीमा कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाबीचको शक्ति सन्तुलन असन्तुलित भएको र विश्वमा प्रचलित प्रजातान्त्रिक मूल्य, मान्यता र मर्म प्रतिकूल व्यवहार राजनीतिक तहमा प्रकट भएको पाइन्छ। जनताको चाहनाबमोजिम शान्ति, स्थिरता र सम्वृद्धिको मार्ग तय गर्ने दिशामा पटक—पटक चुकेको अनुभूति जनताले गर्नुपरिरहेको छ। ’
पूर्वराजाको सन्देशमा हिमाल, पहाड र तराई नै नेपालको विश्व परिचय भएको वास्तविकतालाई आत्मसात गरी तदअनूरूप व्यवहार गर्न नसक्दा नेपाली नेपालीबीच अविश्वास, अनेकता र आशंका उत्पन्न हूने स्थिति पैदा भएको जनाउँदै भनिएको छ– ‘सनातन धर्म र निष्ठामा आधारित जीवन मूल्यलाई क्षतबिक्षत तुल्याउन भएका दृश्यअदृश्य चालबाजीका कारण सामाजिक जीवन आकुल व्याकुल बन्न पुगेको छ। यसबाट देशको प्रजातन्त्र र सार्वभौमिक स्वतन्त्रतामाथि समेत खतरा देखिन थालेको छ।राष्ट्र सम्बृद्ध बनाउनमा मुख्य योगदान पुर्याउन सक्ने जनशक्तिको पलायन अत्यासलाग्दो किसिमबाट बढिरहेको छ। उहाँले थप्नुभएको छ– महाभूकम्प र बाढी पहिरोका कारण घरबारविहीन हुन पुगेका जनतालाई अनुभूत हुने स्तरको सहारा दिने कार्य हुन सकेको छैन।

‘राजनीतिक तहमा भएका अनगिन्ती संवाद र सहमति जनसमस्या समाधानमुखी नभएर राजनीति केन्द्रित हुन पुगेको देखिन्छ। राजनीतिक क्षेत्रप्रतिको भरोसा न्यून हुँदा त्यसले अन्ततः देशको एकता र सबल राष्ट्रियतालाई नै दीर्घकालीन असर पुर्याउने त्रास थपेको छ’ पूर्वराजाले भन्नुभएको छ।

उहाँले थप्नुभएको छ– ‘नव वर्ष २०७४मा हामी चाहन्छौं शान्त, सम्वृद्ध, सुरक्षित, सबल एवं अखण्ड नेपाल। गरिबी एवं अभावमुत्तः नेपाल। हरेक नेपालीले आफूलाई नेपाली हुँ भनी गर्व गर्न सक्ने नेपाल।