धमाधम राजीनामा दिंदै पुनर्निर्माणका इन्जिनियर


सन्तोष अधिकारी, गोरखा
भूकम्पपछि गोरखामा खटिएका पुनर्निर्माणको प्राविधिक अध्ययन गर्न गाउँमा पठाएका इन्जिनियरहरूले धमाधम राजीनामा दिएका छन्।

फागुन लागे यता इन्जिनियरहरूले राजीनामा दिन थालेको जिल्ला आयोजना कार्यान्वयन इकाइका प्रमुख तथा शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयका प्रमुख इन्जिनियर रोशन श्रेष्ठले दिनुभयो।

‘अहिले हरेक दिन २, ३ जनाको राजीनामा स्वीकृती गर्ने गरेको छु श्रेष्ठले भन्नुभयो, ‘१२६ जना इन्जिनियरसाबहरू हुनुहुन्थ्यो तर अहिले जम्मा ८० भन्दा कम प्राविधिकहरू हुनुहुन्छ।’

जिल्लामा ६० जना सब–इन्जिनियरहरू हुनुपर्नेमा ४९ जना रहेका छन्। सबै गाउँपालिका र वडाहरूमा इन्जिनियरहरू पुर्याउन सकिएको छैन।

भूकम्पपीडितको तथ्यांक भर्ने इन्जिनियरसंग ट्याब्लेट छैन। एउटा गाउँपालिकामा एकजना प्राविधिकसँग एउटा ट्याब्लेट छ, अर्कोसँग छैन। अनि प्राविधिक बाँडिएर गाउँ घुम्न पनि पाएका छैनन्।

‘यो माघभन्दा अघि बनेका सबै, सतप्रतिशत घर नै कार्यविधिअनुसार फेल छन्’, उनले भने ‘७२ साल वैशाखमा भुइँचालो गयो, ७३ साल वैशाखबाट बल्ल प्राविधिक गाउँगाउँमा खटिए।

२०७३ साल माघमा मात्र कार्यविधि आएको छ। कार्यविधि आउनुभन्दा अघि बनेका घरहरू कसरी पास हुनु?’ कार्यविधि आइसकेपछि बनेका घर भने समस्या नभएको हो। कार्यविधिभन्दा बाहिरका घरको केहीलाई भने इन्जिनियरले जोखिम मोलेर पास गर्ने गरेको उनले बताए। ‘हामी पनि प्राविधिक नै हौं, त्यसैले कार्यविधिका केहीकेही बुँदाहरूलाई टेकेर लचिलो भएर १२०० वटा घर पास गरेर पठाएका छौं।

नत्र कार्यविधिअनुसार मात्र गरेको भए २०० वटा घर पनि पास हुँदैनथे।’ कार्यविधिअनुसार कडाइ गर्यो भने गाउँमा इन्जिनियर नै असुरक्षित हुने उनको तर्क छ।

‘गाउँबाट इन्जिनियरसाबहरूले तपाइँको घर ठिकै छ भनेर आउनुहुन्छ तर यहाँ कार्यविधिअनुसार जुधाउँदा मिल्दैन’ –प्रमुख इन्जिनियर श्रेष्ठले भन्नुभयो।