मधेसी मोर्चाद्वारा प्रस्ताव अस्वीकार निर्वाचन प्रतिकार आन्दोलनको घोषणा



काठमाडौं, (नेस)
सरकारले दर्ता गराएको संविधान संशोधनको नयाँ प्रस्तावलाई अस्वीकार गर्दै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आन्दोलनको घोषणा गरेको छ।

सरकारले पुरानो संशोधन प्रस्तावलाई फिर्ता लिँदै मंगलबार संविधान संशोधनको नयाँ प्रस्ताव संसद् सचिवालयमा दर्ता गराएको थियो। उक्त नयाँ प्रस्तावले पनि मधेसको माग सम्बोधन नगरेको भन्दै बुधबार बसेको मधेसी मोर्चाको बैठकले आन्दोलनको घोषणा गरेको छ।

तराई–मधेस लोकतान्त्रिक पार्टीको केन्द्रीय कार्यालय बिजुलीबजारमा बसेको मोर्चाको बैठकले सरकारले घोषणा गरेको स्थानीय निकायको निर्वाचनमा सहभागी नहुने मोर्चाले स्पष्ट पारेको छ। मोर्चाले निर्वाचनलाई बिथोल्न आन्दोलनका कार्यक्रमहरू घोषणा गरेको छ।

मोर्चाको घोषित कार्यक्रमअनुसार चैत ३१ गते मधेसका सबै जिल्ला सदरमुकामहरूमा जुलुस प्रदर्शन र वैशाख ३ गते जिल्लास्थित निर्वाचन कार्यालय घेराउ गर्नेछ।

यता बुधबार नै संघीय गठबन्धनले पनि निर्वाचन बहिष्कार गरेको छ। तीनकुनेस्थित मधेसी जनअधिकार फोरम नेपालको केन्द्रीय कार्यालयमा बसेको गठबन्धनको बैठकले पनि निर्वाचनमा सहभागी नहुने स्पष्ट पार्दै आन्दोलन जारी राख्ने निर्णय गरेको छ।

सरकारले मधेसी मोर्चाको सहमतिमा नयाँ संशोधन विधेयक ल्याएको भए पनि मधेसी मोर्चाले अस्वीकार गरेको छ। मधेसी मोर्चाले सीमांकनको विवाद समाधान नभएसम्म कुनै पनि निर्वाचनमा सहभागी नहुने र आन्दोलन जारी राख्ने निर्णय गरेको संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले बताउनुभयो।
तराई–मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले सरकारले मधेसी मोर्चालाई शब्द जालमा फसाउन खोजेको भन्दै अब कठोर आन्दोलन हुने नेपाल समाचारपत्रलाई बताउनुभयो। उहाँले प्रमुख तीनवटै पार्टीले सहमति गरेर मधेसी मोर्चालाई धोका दिएको पनि आरोप लगाउनुभयो।

प्रतिक्रिया दिनुहोस्