राजधानीका ठूला भवन शंकाको घेरामा

0
Shares

ईश्वरराज ढकाल, काठमाडौं
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजधानीका विभिन्न चर्चित भवनहरूको नक्सा पाससम्बन्धी सम्पूर्ण विवरण माग गरेको छ। आयोगले नक्सा स्वीकृत गर्दा अनियमितता भएको आशंकामा १६ वटा भवनको नक्सा माग गरेको हो।

पटकपटक नक्सा माग गर्दासमेत बेवास्ता गरेको जनाउँदै पुनः पत्र काटेर नक्सा पासलगायतका सम्पूर्ण प्राविधिक पक्षको कागजात माग गरिएको हो। आयोगले ती भवनहरूको सक्कल नक्सा र भवनसँग सम्बन्धित सम्पूर्ण टेक्निकल तथ्याङ्कसमेत माग गरेको छ। आयोगले ती भवनहरूको विवरण माग गरेपछि कामपालाई हम्मेहम्मे परेको छ।

‘कामपाले १६ वटै भवनको नक्सा र अन्य विवरण खोजी गरी आयोगमा पठाउने तयारी गरेको छ। केहीको विवरण फेला पर्न सकेको छैन, भएका विवरण संकलन गर्ने काम भइरहेको छ।’ –कामपा नक्सा शाखाका एक कर्मचारीले नेपाल समाचारपत्रसँग भन्नुभयो।

भवन विभागका पूर्वप्रमुखलाई मौखिकरूपमा स्मरण गराउँदासमेत बेवास्ता गरेपछि आयोगले लिखितरूपमै विवरण माग गरेको जनाएको छ।

आयोगले नयाँ वानेश्वरको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रदेखि कोटेश्वर चोकको बीचमा बागमती नदी मिचेर निर्माण गरिएको भीएस निकेतन स्कुलको भवन, राज भवन, एलाइन्स कम्प्लेक्स, सिनामंगलमा विमानस्थल जाने मोडमा बनेको कर्पोरेट टावर, काठमाडौं मेडिकल हस्पिटल परिसरमा बनेका भवनहरू र विमानस्थल अगाडिको एयरपोर्ट होटल भवनबारे पत्राचार गरेको छ।

यस्तै गौशालाबाट विमानस्थल जाने बाटोको वागमती पुल नजिकको राजु भवन, होटल इन्द्रेणी हिमालय भवन र प्रहरी प्रधान कार्यालयको उत्तर तथा दक्षिणतर्फ बन्दै गरेको भवनको नक्सासमेत आयोगले माग गरेको छ।

त्यस्तै, गौशाला टुकुचा पुल नजिक बनिरहेको हार्भेस्ट मुन भवन, कालिकास्थान सांस्कृतिक संस्थानसँगै निर्माण भएको सुबोध युनिफर्म भवन, प्रहरी महानिरीक्षक निवास अगाडि बेलायत र अस्ट्रेलिया भिसा आवेदन दिने भीएफएस भवन, पुतलीसडकबाट धोबीधारा जाने मोडको हिमालयन जाभा भवन, थापाथलीस्थित ट्रेड टावर, नेपाल राष्ट्र बैंकको मुख्यालय बालुवाटारको दक्षिणतर्फको विनायक हाउजिङ प्रालिको भवन, बालुवाटारस्थित मल्पी इन्टरनेसनल पछाडिको ठूलो भवन, बालाजु बाईपास मोड नजिक हिमालयन सिटी सेन्टर र बालाजु बसपार्कको पश्चिममा रहेको सपिङ कम्प्लेक्स रहेका छन्।
पटक–पटक ताकेता गर्दा पनि अटेर गरेपछि आयोगले कामपालाई पत्र नै काटेर १५ दिनको म्याद दिएको स्रोतको भनाइ छ। आयोगले पठाएको पत्रलाई कामपाले गोप्यरूपमा राखेको छ। कामपा नक्सा विभागका एक कर्मचारीले अधिकांश भवनको नक्सा खोज्ने काम भइरहेको जानकारी दिँदै भने– ‘आयोगले माग गरेअनुरूपको विवरण हामी खोज्दै छौं। कामपाका नक्सा महाशाखा प्रमुख रामबहादुर थापाले यो विषयमा आफूलाई जानकारी नभएको बताउँदै भन्नुभयो– ‘आयोगले अनुसन्धानको क्रममा विभिन्न समयमा पत्र पठाउने गरेको छ।’