राष्ट्रपति भारत र श्रीलंका जाने



काठमाडौं, (नेस)
नेपाल–भारत दुवै मुलुकले राष्ट्रपति विद्यादेवी भण्डारीको भारत भ्रमणको तयारी भएको जनाउँदै बुधबार मिति र भ्रमण तालिका सार्वजनिक गरेका छन्। राष्ट्रपति भण्डारी आगामी वैशाख ४ देखि ८ गतेसम्म ५ दिने राजकीय भ्रमणमा भारत जाँदै हुनुहुन्छ। भ्रमणको क्रममा उहाँले भारतीय समकक्षी प्रणव मुखर्जी, उपराष्ट्रपति हमिद अन्सारी र प्रधानमन्त्री नरेन्द्र मोदीलगायत भारतीय उच्च अधिकारीहरूसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ।

राष्ट्रपति भण्डारी आगामी मंगलबार भारतीय राष्ट्रपति कार्यालयमा आयोजना हुने रिसेप्सनमा सहभागी हुने र भारतीय राष्ट्रपतिबाट ‘गार्ड अफ अनर’ लिने कार्यक्रम तय भएको मन्त्रालयले जनाएको छ। सोही दिन राष्ट्रपति भण्डारीले भारतीय समकक्षी मुखर्जीसँग शिष्टाचार भेटवार्ता गर्नुहुनेछ भने भण्डारीको सम्मानमा मुखर्जीले दिवा भोजको आयोजना गर्ने बताइएको छ।

राष्ट्रपति भण्डारीको औपचारिक भ्रमण पश्चात् दुवै मुलुकबीचको वर्षौं पुरानो, पृथक र बृहत् सम्बन्ध झनै बलियो हुने भारतीय विदेश मन्त्रालयले जनाएको छ। ‘राष्ट्रपतिको आसन्न भ्रमणले दुवै मुलुकबीचको ऐतिहासिक, साँस्कृतिक र जनता–जनताबीचको सम्बन्धलाई झनै बलियो बनाउने छ’ –सो मन्त्रालयद्वारा बुधबार जारी विज्ञप्तिमा उल्लेख छ। भारतमा रहँदा राष्ट्रपति भण्डारीले गुजरात र उडिसा राज्यको अवलोकन भ्रमण गर्नुहुनेछ।

तर, यो भ्रमणका क्रममा दुवै मुलुकबीच कुनै किसिमको विशेष सम्झौता हुने⁄नहुने भारतीय विदेश मन्त्रालयले प्रस्ट्याएको छैन। राष्ट्रपति भण्डारीको यो पहिलो औपचारिक भारत भ्रमण हुनेछ। गत वर्षको वैशाख २७ गतेका लागि तय भएको उहाँको भारत भ्रमण नेपाल–भारतबीचको राजनीतिक उतार–चढावका कारण अन्तिम समयमा स्थगित भएको थियो।

यसैबीच परराष्ट्र मन्त्रालय स्रोतका अनुसार राष्ट्रपति भण्डारीको भ्रमणका क्रममा द्विपक्षीय सम्झौता नहुने भएको छ। भारतीय पक्षले द्विपक्षीय सम्झौता नहुने संकेत गरेसँगै परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत भ्रमणमा सहभागी नहुने बताइएको छ। ‘मन्त्रीज्यू भ्रमण टोलीमा सहभागी नहुने लगभग निश्चित भइसकेको छ, महत्त्वपूर्ण सम्झौता नहुने भएपछि उहाँ भ्रमणमा सहभागी हुन नचाहनुभएको हो’ –मन्त्रालय स्रोतले नेपाल समाचारपत्रसँग भन्यो।

राष्ट्रपति तथा प्रधानमन्त्री सहभागी हुने विदेश भ्रमणमा परराष्ट्रमन्त्री भ्रमणटोलीका अनिवार्य सदस्यका रूपमा सहभागी हुने प्रचलन छ। तर, यस पटक मन्त्री महत भ्रमण टोलीमा सहभागी नहुने भएपछि मन्त्रिपरिषद्ले अरू नै मन्त्रीलाई सवारीमन्त्रीका रूपमा नियुक्त गरेर भ्रमणमा सहभागी गराउने बताइएको छ। यसैबीच राष्ट्रपति भण्डारी अर्को महिना श्रीलंका भ्रमणमा जानुहुने भएको छ। श्रीलंकाका राष्ट्रपति मैथ्रीपाला सिरिसेनाको औपचारिक निमन्त्रणामा उहाँ आगामी मे महिनाभित्र सो मुलुकको भ्रमणमा जाने तयारीमा रहनुभएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्