दुई एग्रिमो आए



काठमाडौं, (नेस)
विभिन्न मुलुकहरुका लागि प्रस्तावित राजदूतहरुको ‘एग्रिमो’ आउन शुरू गरेको छ। कतार र इजरायलका लागि राजदूत सिफारिस हुनुभएका क्रमशः रमेशप्रसाद कोइराला र निरञ्जन थापाको एग्रिमो आइसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

कोइराला नेपाली कांग्रेस र थापा राप्रपाको कोटामा राजदूतका लागि सिफारिस हुनुभएको हो। सो मन्त्रालयका शिष्टाचार महापाल दीपक अधिकारीका अनुसार यही साता कतार र इजरायलले उहाँहरुको एग्रिमो पठाएका हुन्। कोइराला र थापाको एग्रिमो आएसँगै उहाँहरु औपचारिकरूपमा राजदूत बन्ने बाटो खुला भएको छ।

सम्बन्धित मुलुकहरुले एग्रिमो पठाएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तावित राजदूतहरुलाई सरकारको सिफारिसमा औपचारिकरूपमा राजदूत नियुक्त गर्ने प्रावधान छ। संसदीय सुनुवाइ विशेष समितिले यही चैत १० गते दलीय भागवन्डामा प्रस्तावित १२ मुलुकका राजदूतहरुको सुनुवाइ सकेर सर्वसम्मतरूपमा सबैको नाम अनुमोदन गरेको थियो। त्यसलगत्तै सरकारले प्रस्तावित सबैको नाम सम्बन्धित मुलुकहरुमा एग्रिमो सहमतिका लागि पठाएको थियो।

प्रतिक्रिया दिनुहोस्