चुनावमा ७५ हजार म्यादी प्रहरी



काठमाडौं, (नेस)
आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि सरकारले ७५ हजार म्यादी प्रहरी परिचालन गर्ने भएको छ।

मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो। स्थानीय तहको निर्वाचनका लागि ७५ हजार म्यादी प्रहरी परिचालन गर्ने गृह मन्त्रालयको प्रस्ताव बैठकले स्वीकृत गरेको हो। त्यसै गरी स्वास्थ्य बीमासम्बन्धी विधेयक संसद्मा पेस गर्ने निर्णय पनि गरेको छ।

सरकारले काठमाडौंको पर्यावरणीय सुधारका लागि मुख्य सचिव सोमलाल सुवेदीको नेतृत्वमा एक कार्यदल पनि पनि गठन गरेको छ। सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले दिएको जानकारीअनुसार उक्त कार्यदललाई काठमाडौंमा प्रदूषण कम गर्न कार्य योजना बनाउने जिम्मेवारी दिएको छ।
त्यस्तै बैठकले सप्तरी घटनामा परी मृत्यु भएका इन्दल यादवको परिवारलाई क्षतिपूर्तिबापत १० लाख आर्थिक सहायता उपलब्ध गराउने निर्णय पनि गरेको छ। साथै जातीय भेदभाव तथा छुवाछुतसम्बन्धी नियमावली संसद्मा पेस गर्न पनि स्वीकृति प्रदान गरेको छ।

त्यसैगरी सरकारले चीनको ल्हासामा बन्न लागेको महावाणिज्य दूतावासको भवनमा चीन सरकारको आर्थिक सहायता लिने अधिकार त्यहाँकै महावाणिज्य दूतावासलाई दिने निर्णय पनि गरेको छ। यसै गरी, भोजपुर, तेह्रथुमलगायतका जिल्लाका आगलागी पीडितलाई क्षतिपूर्ति दिने निर्णय पनि गरेको छ।

प्रतिक्रिया दिनुहोस्