शिक्षक र एनजीओका कर्मचारी पार्टीको प्रचारमा


ललित सिंह, बझाङ
विद्यालयलमा पढाउने शिक्षक र जनताको विकासका लागि काम गर्ने एनजीओका कर्मचारी आफ्नो काम छोडर पार्टीको प्रचारप्रसारमा जुटेका छन्। वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचमा नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्र निकटका शिक्षक विद्यालयमा पढाउन छोडेर र एनजीओका कर्मचारी फिल्डको काम छोडेर राजनीतिक दलको झन्डा बोक्दै गाउँगाउँमा पार्टीको प्रचारप्रसारमा लागेका हुन्।

गाउँमा अहिले चुनावी चलहपहल निकै बढेको छ शिक्षक विद्यालयमा पढाउनुको साटो पार्टीको झन्डा बोक्दै गाउँगाउँमा नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्रको प्रचार गरिरहेको मष्टा गाउँपालिका–३ का बिर्ख बोहराले बताए। उनले गत साता रिलुमा एमालेको चुनावी आमसभामा नेता र कार्यकर्ताभन्दा बढी शिक्षक संगठनका पदाधिकारी रहेको बताए। ‘गाउँ समाजमा नेता कार्यकर्ताले आफ्नो पक्षमा भोट माग्नु त ठीकै हो शिक्षक नै गाउँमा आएर तिम्रो छोरा विद्यालयमा मैले पढाइदिएको छु मैले भनेको पार्टीमा भोट हाल नभए तिम्रो छोरा परीक्षामा फेल बनाइदिन्छु भनेर सर्वसाधारणलाई तर्साउँछन्, यो त राम्रो भएन नि’ –दिलबहादुर विकको भनाइ थियो।

उनले भने– ‘सरकारी जागिर पनि गर्ने पाटीृको प्रचारमा पनि नेताभन्दा बढी खटिने, बझाङमा शिक्षकको रवैया देखिएको छ, शिक्षा कार्यालय पनि तैं चुप मै चुप भएको छ। यस्ता शिक्षकलाई छानविन गरी कारबाही गर्नुपर्छ।’

जनताको विकासको नाममा विदेशीले दिएको पैसा खाएर एनजीओ⁄आईएनजीओमा काम गर्ने कर्मचारी अहिले महिला र दलित समुदायमा गएर यो सबै एमालेले ल्याएर तिमीले पाएको हो सबैले एमालेमा भोट दिनुपर्छ एमालेले स्थानीय तहको चुनावमा हारे गाउँबाट एनजीओ जाने भन्दै प्रचार गर्ने गरेको छबिस पाथिभेरा गाउँपालिकाका शैलेन्द्र रोकायाले बताए। उनले भने– ‘गाउँमा अहिले शिक्षक र एनजीओका कर्मचारीको प्रलोभन र डरमा मतदाता रहेका छन् शिक्षक र एनजीओका कर्मचारीलाई कसैको निगरानी छैन। अफिसबाट फिल्ड भन्छन् गाउँमा खुलेआम पार्टीको झन्डा बोकेर प्रचारमा रहेका छन्।’

‘हामी सरकारलाई सघाउने र जनताको विकासका लागि गाउँमा कार्यक्रम लिने विकासप्रेमी हौं कसैको पार्टीको झन्डा समाउनु आवश्यक छैन। कसैले त्यस्तो गरेको भए त्यो गलत हो सरकारले आचारसहिता लागू गरेको छ’ –गैरसरकारी संस्था महासंघ बझाङका जिल्ला अध्यक्ष वीरेन्द्र सिहंले बताए। उनले भने– ‘जनतासँग कसैले बदमासी गर्न पाइँदैन कुनै पार्टीले दिएर एनजीओ चलेको हैन। विदेशीले गरिब मुलुकको विकासका लागि दिएको हो पार्टीको प्रचार गर्ने कर्मचारीलाई जनताले समुदायबाटै सम्बन्धित कार्यालयमा खबर गर्नुपर्छ।’
‘शिक्षकले विद्यालयमा गएर पढाउने काम हो ट्रेड युनियनअन्तर्गतको चुनावमा लाग्नु त ठीकै हो। पार्टीको प्रचारप्रसारमा लागेको थाहा पाए कारबाही गर्छौं’ –जिल्ला शिक्षा अधिकारी सूर्यबहादुर सिंहले बताए।