आईजीपीमा अर्याल सोमबार राति नै फुली लगाए

0
Shares

काठमाडौं, (नेस)
मन्त्रिपरिषद्को बैठकले नेपाल प्रहरीको महानिरीक्षकमा प्रहरी नायब महानिरीक्षक प्रकाशकुमार अर्याललाई नियुक्त गरेको छ।

सरकारले गत फागुन १ गते नेपाल प्रहरीको महानिरीक्षकमा तेस्रो वरीयतामा रहेका डीआईजी जयबहादुर चन्दलाई नियुक्त गरेपछि सर्वोच्च अदालतले चन्दको नियुक्तिलाई खारेज गरेको हो।

त्यसपछि सरकारले कसलाई प्रहरी प्रमुख बनाउने भन्ने बारेमा निर्णय गर्न सकेको थिएन।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकमा अदालतको आदेशलाई कार्यान्वयन गर्ने भन्दै आईजीपी नियुक्त गर्नका लागि कार्य सम्पादनको नम्बर पेस गर्न कमिटी गठन गरिएको थियो।

मन्त्रिपरिषद्ले गठन गरेको कमिटीमा गृहसचिव लोकदर्शन रेग्मी, प्रधानमन्त्री कार्यालयका सचिव दिनेश थपलिया, कानुन सचिव कमलसाली घिमिरे र निमित्त प्रहरी प्रमुख दिनेशचन्द्र पोखरेल रहेका थिए।

उनीहरुले कार्य सम्पादन मूल्यांकनमा डीआईजी अर्याल एक नम्बरमा रहेको प्रतिवेदन दिएपछि दोस्रो पटक बसेको मन्त्रिपरिषद्को बैठकले अर्याललाई महानिरीक्षमा बढुवा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सूचना तथा सञ्चारमन्त्री सुरेन्द्र कार्कीले जानकारी दिनुभयो।

नेपाल प्रहरीको महानिरीक्षक नियुक्तीका विषयमा सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सुदूरपश्चिमका डीआईजी चन्दलाई आईजीपीमा नियुक्त गर्न दिएको दबाबलाई थेग्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आईजीपीमा चन्दलाई नियुक्त गरेको भए पनि अदालतको आदेशले उहाँको नियुक्ति खारेज गरेपछि झन्डै एक महिना मन्त्रिपरिषद्को बैठक नै बस्न सकेको थिएन।

२०४४ सालमा प्रहरी निरीक्षकमा सेवा प्रवेश गरेका अर्याल प्रहरी निरीक्षकमा एक नम्बरमा रहनुभएको थियो। उहाँले २०७४ सालको फागुन १ गते नेपाल प्रहरीको महानिरीक्षकको रूपमा काम गर्नु हुने भएको छ। नवनियुक्त आईजीपी अर्यालले सोमबार राति नै गृहसचिव रेग्मीसमक्ष सो पदको फुली लगाउनुभएको थियो।
सरकारले सोमबार नै प्रहरी महानिरीक्षको टुंगो लगाउने भएपछि प्रहरी प्रधान कार्यालय र उपत्यकाका प्रहरीहरुलाई तयारी अवस्थामा रहन प्रहरी प्रधान कार्यालयले निर्देशन दिएपछि के हुन्छ भन्ने बारेमा कौतुहलता छाएको थियो। सोमबारको मन्त्रिपरिषद् बैठकमा उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिको भने उपस्थिति थिएन।

सोमबार राति दोस्रो पटक बसेको मन्त्रिपरिषद्को बैठकले महानिरीक्षकमा अर्याल नियुक्ति गरेलगत्तै लामो समयदेखि निमित्त प्रमुखको भरमा चलेको नेपाल प्रहरीले नयाँ महानिरीक्षक पाएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद्को बैठकले बरिष्ठता र मूल्यांकनका आधारमा अर्याललाई महानिरीक्षकमा नियुक्ति गरेको थियो।

वरीयता विवादले मन्त्रिपरिषद्को बैठक बस्न नसकेकामा सोमबार बसेको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पछि दोस्रो वरीयता क्रममा संघीय मामिला तथा स्थानीय विकास मन्त्री कमल थापा बस्नुभएको थियो।