डढेलोले तीन घर नष्ट एक घाइते


डढेलो अझै अनियन्त्रित
खोटाङ, (नेस)
खोटाङ ऐसेलुखर्क गाउँपालिका–४ स्थित सामुदायिक वनबाट शुरु भएको भीषण डढेलो अझै नियन्त्रणमा आउन सकेको छैन। खोटाङ र सोलुखुम्बुको सिमानामा पर्ने उक्त गाउँपालिकाको जलेश्वरीमा पर्ने बाबियोखर्क सामुदायिक वन र तसारेजुवारे सामुदायिक वनबाट शनिबार दिउँसो शुरु भएको डढेलोलाई नियन्त्रणमा लिन नसक्दा शनिबार साँझ जलेश्वरीका सन्तोष गिरी तथा सोलुखुम्बुस्थित दुधकौशिका गाउँपालिका ४ जुबुका रामकुमार गिरी र अम्बर गुरुङको घर जलेर नष्ट भइसकेको छ।

खोटाङको इलाका प्रहरी कार्यालय ऐसेलुखर्क र सोलुखुम्बुको प्रहरीचौकी सुकेपोखरीबाट खटिएका प्रहरी र स्थानीयले नियन्त्रणको प्रयास गरे पनि डढेलो नियन्त्रणमा लिन नसकिएपछि स्थानीय त्रसित बनेको प्रहरीले जनाएको छ।
डढेलोका कारण खोटाङतर्फका बस्तीमा जोखिम कम भए पनि सोलुखुम्बु जुबुका बस्तीमा डढेलो पस्ने जोखिम भएको ऐसेलुखर्क प्रहरी हवल्दार उपियान्द्र यादबले जानकारी दिनुभयो। डढेलो नियन्त्रणको प्रयासका क्रममा जुबुका टेकबहादुर गुरुङ घाइते भएको स्थानीयले बताएका छन्।