ट्रम्प र सीले पाँच महत्त्वपूर्ण बुँदामा छलफल गर्ने


बेइजिङ, (एजेन्सी)
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका चिनियाँ समकक्षी सी जिन्पिङबीच अमेरिकाको फ्लोरिडास्थित सुविधासम्पन्न रिसोर्टमा हुन लागेको भेटवार्ता मुख्यतया पाँचओटा बँुदामा केन्द्रित हुने भएको छ।

विश्वका शक्तिशाली दुई देशका शीर्ष नेताबीच पहिलोपटक हुन लागेको यस भेटवार्तालाई अन्तर्राष्ट्रिय जगत्बाट अत्यन्तै महत्त्वका साथ हेरिएको छ।
तिनीहरूले तय गरेको वार्ताको पहिलो एजेन्डा ‘उत्तर कोरिया रहेको बुझिएको छ। तिनीहरूबीच भेटवार्ता हुने तयारी भइरहेका बेला गत बुधबार मात्रै पनि उत्तर कोरियाले क्षेप्यास्त्र परीक्षण गरेको थियो। उत्तर कोरियाले यसरी बेला बेलामा क्षेप्यास्त्र परीक्षण गर्नु अमेरिका र चीन दुवैका लागि ठूलो सुरक्षा चुनौती भएको छ। उत्तर कोरियाको रसायनिक हतियार दुवै देशले विश्वकै लागि टाउको दुखाइको विषय भएको ठान्ने गरेका छन्।

तिनीहरूको वार्ताको दोस्रो प्राथमिकताको विषय ‘व्यापार हुने बताइएको छ। राष्ट्रपति निर्वाचनका बेला ट्रम्पले चीनसँगको अपारदर्शी व्यापारलाई व्यवस्थित र पारदर्शी बनाउने दाबी गरेका थिए। लगानी र व्यापार आदान¬–प्रदानमा दुवै देशले प्राथमिकता दिने भएका छन्।

चीन र अमेरिकाका लागि ‘ताइवानको विषय पनि अर्को महत्त्वपूर्ण चासोको विषय बन्दै आएको छ। चीन र ताइवानको सम्बन्धलाई लिएर ट्रम्पले सीसँग छलफल गर्ने भएका छन्। चीन र ताइवानको सम्बन्ध बेला बेलामा नराम्रोसँग चिसिने गरेको छ। चीनले ताइवान आफ्नै भूभाग रहेको दाबी गर्दै आएको छ। चीन र अमेरिकाको मतभेद रहँदै आएको अर्को विषय हो ‘दक्षिणी चिनियाँ समुद्र। दक्षिणी चिनियाँ समुद्रलाई चीनले आफ्नो दाबी गर्दै आउने गरेको छ भने अमेरिकाले त्यसको कडा आलोचना गर्ने गरेको छ। यो फरक मतका विषय पनि तिनीहरूबीच यसपटक छलफल हुने एजेन्डामा राखिएको छ।

चीन र अमेरिकाबीचमा छलफल हुने पाँचौं विषयका रूपमा ‘मानव अधिकारलाई राखिएको छ। चीन र अमेरिकाको लामो समयदेखिको दुई पक्षीय द्वन्द्व हुने विषय मानव अधिकार पनि हो। अमेरिकाले पटकपटक चीनले अन्तार्राष्ट्रिय मानव अधिकारको मापदण्ड उल्लंघन गर्ने गरेको आरोप लगाउने गरेको थियो। तर चीनले सो आरोपको खण्डन गर्ने गरेको छ।