विषालु च्याउ खाँदा एकै परिवारका तीनको मृत्यु


धन बस्नेत, पोखरा
विषालु जंगली च्याउको सेवनबाट पोखरामा मृत्यु हुनेको संख्या तीन पुगेको छ। बुधबार एक जनाको मृत्यु भएको थियो। बिहीबार थप दुईको मृत्यु भएको प्रहरीले जनाएको छ।

नजिकैको जंगलबाट ल्याएको च्याउ खाएपछि बिरामी परेका पोखरा लेखनाथ महानगरपालिका–१६, लामाचौरका तामाङ परिवारका तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

बिहीबार ११ः३० बजे उपचारको क्रममा सोनम मगरको मृत्यु भएको हो। एक जनाको गम्भीर बिरामी अवस्थामा राजधानीस्थित कान्तिबाल अस्पतालमा उपचार भइरहेको छ। विषालु च्याउको सेवनबाट ६० वर्षीया माइली तामाङ, उनकी कक्षा ११ मा अध्ययनरत १९ वर्षीया छोरी मनमाया तामाङ र माइलीकी जेठी छोरीका कान्छा छोरा ८ वर्ष सोनम मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका कास्कीका डीएसपी खडगबहादुर खत्रीले बताए। बुधबार साँझ माइली र सोही राति मनमायाको मृत्यु भएको थियो।

मृतक सोनमका दाइ १२ वर्षीय आयुष मगरको भने गम्भीर अवस्थामा कान्ति बाल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालये जानकारी दिए।

गत चैत १९ गते मनमायाले स्थानीय अकला मन्दिरको दशर्नसँगै नजिकैको जंगलबाट ल्याएको च्याउ बेलुकी परिवारका चारै जनाले खाएका थिए। त्यसै दिनदेखि झाडापखाला लागेका उनीहरूले स्थानीय मेडिकलबाट पखालाको औषधि खाएर बसेको प्रहरीले जनाएको छ।

च्याउको विषले गम्भीर असर गर्न थालेपछि उनीहरूमध्ये माइलीलाई मणिपाल शिक्षण अस्पताल, मनमायालाई गण्डकी मेडिकल कलेज र सोनमलाई चरक मेमोरियल अस्पतालमा भर्ना गरिएको थियो। आयुषलाई काठमाडौं रिफर गरिएको थियो। माइली र मनमायाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको थियो।