चुनावी प्रचारमा हिँड्ने शिक्षकको जागिर धरापमा


नेपाल समाचारपत्र
बाजुरा
जिल्ला शिक्षा कार्यालय बाजुराले निर्वाचन आचारसहिंता उल्लंघन हुने गरी चुनावी प्रचारमा जाने शिक्षकलाई कारबाही गर्ने चेतावनी दिएको छ। आगामी वैशाख ३१ गते हुने भनिएको स्थानीय तह निर्वाचनलाई लक्षित गरी जिल्ला शिक्षा कार्यालय बाजुराले सोमबार सार्वजनिक सूचना प्रकाशित गरेको छ।

विद्यालयको पढाइ अवरोध गरी राजनीतिक दलका सभा सम्मेलनमा हिँड्ने शिक्षकलाई कारबाही गर्ने बताएको छ। निर्वाचन आचारसंहिता विपरीत कार्यमा संलग्न शिक्षकलाई तत्काल कारबाही गरिने निमित्त जिल्ला शिक्षा अधिकारी धर्मराज जोशीद्वारा हस्ताक्षरित सूचनामा उल्लेख छ। शिक्षकहरू विभिन्न राजनीतिक संगठनका कार्यक्रममा खुलमखुला भाग लिने प्रचारप्रसारमा खटिने चन्दा संकलनको मुख्य जिम्मेवारी लिनेजस्ता क्रियाकलाप बढेपछि शिक्षा कार्यालयले यसो निर्णय लिएको हो।

शिक्षा कार्यालयले विद्यालयलाई सभा सम्मेलन नगर्न र नगराउनका साथै कुनै पनि शिक्षकले आमसभामा गएको प्रमाणित भए ठाउँको ठाउँ कारबाही गरिने ेबताएको छ। सो बारे आवश्यक सहयोग गर्न जिल्ला प्रशासन कार्यालय र निर्वाचन कार्यालयलाई बोधार्थसहितको जानकारीपत्र उठाएको छ।

शिक्षकहरू शिक्षण पेसालाई छोडेर आचारसंहिता विपरीत राजनीतिक दलको चुनाव प्रचारमा खटिएको चौतर्फी आलोचना बढेपछि कडा पत्र जारी गरेको हो। निर्वाचन आयोगले सरकारी सेवासुविधा लिने जुनसुकै व्यक्ति वा संस्थाले दलको झन्डा बोकेर चुनावी प्रचारप्रसारमा जान नमिल्ने गरी आचारसंहिता बनाएको हो।
विगतमा पनि शिक्षक चुनावमा खटिँदा राजनीतिक प्रश्रय बढ्ने र व्यावसायिकतामा आँच आएको थियो। राजनीतिक गतिविधिमा निजामती कर्मचारीभन्दा शिक्षकहरू बढी संलग्न देखिएका छन्। राजनीतिक दलका चुनावी प्रचार अभियानदेखि आमसभा र आर्थिक संकलनमा समेत शिक्षकहरू नै खटनपटनमा देखिने गरेका छन्। उनीहरू पेसागत इमानदारिता नै बिर्सेर चुनावी प्रचारमा लागे स्वयम् व्यक्तिका लागि राम्रो नहुने जिल्ला शिक्षा कार्यालय बाजुराले जनाएको छ।