हीरा लिलाममा ‘पिंक स्टार को कीर्तिमान


हङकङ, (एजेन्सी)
हङकङमा एउटा अत्यन्त दुर्लभ प्रकारको गुलाबी हीरा ‘पिंक स्टार ७ करोड १० लाख डलरमा लिलाम भएको छ। यो हीराको लिलामी मूल्यमा नयाँ कीर्तिमान हो।

अन्डा आकारको ५९ दशमलव ६ क्यारेट यो हीरा लिलाम शुरु भएको पाँच मिनेटभित्रै लिलाम भएको थियो। लिलामका लागि उपलब्ध यो अहिलेसम्मको सबैभन्दा ठूलो पोलिस गरेको हीरा हो।

सन् २०१३ मा जेनेभामा उक्त हीरा लिलाममा राख्दा ८ करोड ३० लाख अमेरिकी डलरको बोली लगाएको थियो तर पछि खरिदकर्ताले मूल्य चुकाउन अस्वीकार गरेका थिए।

हीराको बिक्री गर्ने ७७ डायमन्डसका अलेक्ज्योन्डर ब्रेकनरले बीबीसीलाई भने– ‘यो मानव इतिहासको सबैभन्दा ठूलो गुलाबी हीरा हो। यसको रंगले यसलाई अविश्वसनीय बनाएको छ।

यसअघि हीराको सबैभन्दा ठूलो लिलामीको कीर्तिमान ओपनहाइमर ब्लुको नाममा थियो। उक्त हीरा गत वर्ष मेमा ५ करोड डलरमा लिलामी भएको थियो।

विश्वका बहुमूल्य हीरा ओपनहाइमर ब्लु सन् २०१६ मा ओपनहाइमर ब्लु हीरा ५ करोड ६ लाख अमेरिकी डलरमा बिक्री भएको थियो। १४ दशमलव ६२ क्यारेटको उक्त हीरालाई जेनेभावको क्रिस्टी अक्सन हाउसले फोनको माध्यमबाट लिलाममा बिक्री गरेको थियो। उक्त हीरा कसले किनेको हो त्यसको जानकारी खुलासा गरेको छैन।

ब्लु मुन
सन् २०१५ नोभेम्बरमा एउटा औंठीमा जडिट १२ दशमलव ३ क्यारेटको ब्लु मुन हीरा लिलाम भएको थियो। हङकङका व्यवसायी जोसफ लुले उक्त हीराका लागि ४ करोड ८४ डलर तिरेका थिए।

उनले आफ्नी सात वर्षीय छोरीका लागि उक्त हीरा खरिद गरी आफ्नी छोरीको नाममा यसको नाम ‘ब्लु मुन अफ जोसेफाइन राखेका थिए।

सनराइज रुबी
गाढा रातो रंगको २५ दशमलव ५९ क्यारेटको सनराइज रुबी एकजना व्यक्तिले ३ करोड डलरमा किनेका थिए। सन् २०१५ मा यति धेरै मूल्यमा बिक्री भएको यो जवाहरात हीरापछि बिक्री भएको सबैभन्दा बहुमूल्य पत्थर भएको थियो।

अरेन्ज हीरा
सन् २०१३ नोभेम्बरमा क्रिस्टी अक्सन हाउसले विश्वकै सबैभन्दा ठूलो सुन्तला रंगको हीरा लिलाम गरेका थिए। त्यतिबेला यो हीरा प्रतिक्यारेट सबैभन्दा धेरै मूल्यमा बिक्री भएको थियो। यो हीरा प्रतिक्यारेट २४ लाख डलरमा बिक्री भएको थियो।

ग्राफ पिंक
२७ दशमलव ७८ क्यारेटको चम्किलो गुलाबी रंगरको यो हीरा अहिलेसम्म प्राप्त सबैभन्दा ठूलो हीरामा गनिन्छ। ग्राफ पिंक नामक यो हरिा ४ करोड ६२ लाख अमेरिकी डलरमा लिलामी भएको थियो।
सन् २०१० नोभेम्बरमा लिलाममा राखिएको यो हीरा त्यतिबेला सबैभन्दा महंगो मूल्यमा बिक्री भएको हीरा बनेको थियो। यो हीरा बेलायतका डिलर लरेन्स ग्राफले किनेका थिए।