ट्रम्प र सीबीचको भेटसम्मुख उत्तर कोरियाद्वारा क्षेप्यास्त्र प्रहार


सोल, (एजेन्सी)
अमेरिका र चीनका राष्ट्रपतिहरूको औपचारिक भेटवार्ता हुन लागेका बेला बुधबार उत्तर कोरियाले एक्कासि जापानको समुद्रमा क्षेप्यास्त्र प्रहार गरेको दक्षिण कोरियाली समाचार सूत्रले जनाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका चिनियाँ समकक्षी सी जिनपिङबीच बिहीबार अमेरिकाको फ्लोरिडास्थित एउटा रिसोर्टमा भेटवार्ता हुँदै छ।

उत्तर कोरियाको पूर्वी बन्दरगाहा सिन्पोबाट क्षेप्यास्त्र प्रक्षेपण गरेको अमेरिका र दक्षिण कोरियाका अधिकारीहरूले दाबी गरेका छन्। दक्षिण कोरियाको रक्षा मन्त्रालयले क्षेप्यास्त्रले ६० किलोमिटर अर्थात् झन्डै ४० माइलको दूरी तय गरेको जनाएको छ। दक्षिण कोरियाको विदेश मन्त्रालयले उत्तर कोरियाको यो कदमले विश्वको शान्ति र स्थीरतालाई निकै ठूलो चुनौति दिइरहेको बताएको छ।

तर अमेरिकी सेनाले अहिले प्रहार गरिएको क्षेप्यास्त्र मध्यम दूरी क्षमताको भएकाले अमेरिकालाई कुनै चुनौति नभएको जनाएको छ। आतंकवादी सुरक्षा चुनौतिलाई सामना गर्न दक्षिण कोरिया र जापानसँग नजिकबाट सहकार्य गर्न प्रतिवद्ध रहेको पनि अमेरिकी सेनाका एक जना कमान्डरले बताएका छन्।

अमेरिकाकै विदेश मन्त्री रेक्स टिलर्सनले उत्तर कोरियाका बारेमा अमेरिकाले यसअघि पनि पटक–पटक पर्याप्त मात्रामा प्रतिक्रिया दिइसकेको बताएका छन्।

जापानका प्रधानमन्त्री सिन्जे आवेले पछिल्लो क्षेप्यास्त्र प्रक्षेपण उत्तेजना फैलाउने खालको भएको टिप्पणी गरेका छन्। उनले यसले संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय मूल्यमान्यता र सन्धीसम्झौतालाई समेत उल्लंघन गरेका दाबी गरेका छन्।

उत्तर कोरियाले शृंखलाबद्ध रूपमा यस्ता क्षेप्यास्त्र प्रक्षेपण गर्दै आइरहेको छ। तर उत्तर कोरियाले यस्ता प्रक्षेपणहरू शान्तिपूर्ण प्रयोजनका लागि रहेको दाबी गर्दै आएको छ। पश्चिमी मुलुकहरूले भने यस्ता कार्यलाई आणविक हतियार विकास गर्ने गतिविधिका रूपमा लिने गरेका छन््।

यसबीच फ्लोरिडामा हुने दुई विश्व नेताहरूको भेटवार्तामा उत्तर कोरियाको आणविक तथा क्षेप्यास्त्र योजनालाई कसरी नियन्त्रण गर्न सकिन्छ भन्ने विषय मुख्य रूपमा छलफल गर्ने तयारी भएको छ।