दलाई लामा भ्रमण विवाद चीनसँग सम्बन्धलाई गम्भीर नोक्सान पुर्याएको छः चीन


बेइजिङ, (एजेन्सी)
तिब्बती धर्मगुरु दलाई लामाको अरुणाञ्चल प्रदेशको यात्रालाई लिएर चीनको कडा विरोध गरेको छ। भारतले उक्त यात्राका लागि अनुमति दिन नहुने र यसबाट भारतलाई कुनै फाइदा नहुने चीनले जनाएको छ।

चीनले भने तिब्बती धर्मगुरुलाई भारत चीन सिमाको विवादित हिस्सामा जान अनुमति दिनुले दुई देशबीचको सम्बन्धलाई गम्भीर असर पार्ने बताएको छ।
यद्यपि भारतले उक्त यात्रालाई पूर्णरूपमा धार्मिक यात्रा भएको बताएका छन्। गृह राज्यमन्त्री किरण रिजिजुले ट्विटमा लेखे– ‘भारत एउटा धर्मनिरपेक्ष लोकतान्त्रिक देश हो र धार्मिक नेताहरूमाथि प्रतिबन्ध लगाइँदैन। म चीनसँग अपिल गर्दछु कि दलाई लामाको अरुणाञ्चल यात्रालाई राजनीतिकरूपमा नलिऊन्।

उनले अर्काे एउटा ट्विटमा भने– ‘अरुणाञ्चल प्रदेश विवादित इलाका होइन। अरुणाञ्चल प्रदेशका जनता शान्ति प्रेमी भारतीय हुन् र उनीहरू मित्रताको सम्बन्ध चाहन्छन्।

बुधबारदेखि दलाई लामाको अरुणाञ्चल प्रदेशको एक हप्ता लामो यात्रा शुरू भएको छ। पूर्वी हिमाली भूभागमा पर्ने यस इलाकालाई चीनले दक्षिणी तिब्बतका रूपमा आफ्नो भूमि भएको दाबी गर्दै आइरहेको छ।

चीनको विदेश मन्त्रालयका प्रवक्ता हुवा चुनिइंगले पत्रकारहरूलाई भने– ‘दलाई लामाको उक्त भ्रमणको विरोधमा चीनले भारतसँग कडा आपत्ति जनाइसकेको छ। चीनको चिन्तालाई बेवास्ता गर्दै यो यात्राको व्यवस्था गरेर भारतले चीनको हित र दुई देशको सम्बन्धलाई गम्भीर रूपमा नोक्सान पुर्याएको छ।
हुआ चुनिइंगले भने– ‘हामी चीनको हितलाई नोक्सान पुर्याउनका लागि दलाई लामाको प्रयोग गर्न तुरुन्त बन्द गर्न भारतसमक्ष माग गर्छौं।
दलाई लामाले चीनको आरोपको जवाफमा भने– ‘भारतले कहिले पनि मलाई चीनविरुद्ध प्रयोग गरेको छैन।