गच्छदारको पार्टी बन्यो पाँचौं ठूलो दल


अन्य साना पार्टीसँग पनि एकीकरणको तयारी

नेपाल समाचारपत्र
काठमाडौं
विजयकुमार गच्छदारले नेतृत्वको मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) व्यवस्थापिका संसद्को पाँचौं ठूलो पार्टी बनेको छ। शिवलाल थापा नेतृत्वको राष्ट्रिय जनमुक्ति पार्टी (लोकतान्त्रिक) र यशोदाकुमारी लामा नेतृत्वको दलित जनजाति पार्टी नेपालसँग एकीकरण गरेपछि गच्छदार दल संसद्मा पाँचौं शक्ति बनेको हो। एकीकरणपछि गच्छदारसँग १७ जना सांसद रहनेछन्।

बुधबार काठमाडौंमा एक कार्यक्रमका बीच एकताको घोषणा गर्दै गच्छदारले यसपटकको निर्वाचनमा तेस्रो शक्ति बन्ने दाबी गर्दै प्रधानमन्त्रीको दाबेदारका रूपमा आफूलाई घोषणा गर्नुभयो।

उहाँले अहिले नै आफू पाँचौं शक्ति बनेको बताउँदै अन्य पार्टीहरूसँग पनि एकीकरण हुने बताउनुभयो। उहाँले नयाँ वर्षको अवसरमा अन्य पार्टीहरूसँग पनि एकीकरण हुने बताउँदै ठूला पार्टीबाट पनि केही नेताहरू आउने बताउनुभयो।
यसअघि व्यवस्थापिका संसद्मा पाँचौं शक्तिका रूपमा उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम रहेको थियो। हाल उपेन्द्रसँग १५ जना सांसद रहेका छन्। गच्छदारले यसअघि नयाँ शक्तिका सहसंयोजक महेश कोर्मोचासहितका नेताहरूलाई पार्टीमा भित्त्याएपछि पार्टीको नाम परिवर्तन गर्ने बताउनुभएको थियो। गच्छदारको पार्टीका नाम नेपाल लोकतान्त्रिक फोरम रहने घोषणा गरिएको छ। तर निर्वाचनका कारण स्थानीय निर्वाचनसम्म मधेसी जनअधिकार फोरम नेपाल लोकतान्त्रिक नै रहनेछ।

बुधबारको पार्टी प्रवेश कार्यक्रममा बोल्दै थापाले देशको पहिलो पार्टी बनाउने घोषणा गर्नुभएको थियो। उहाँले नेपाल लोकतान्त्रिक फोरम मधेसको मात्रै नभई हिमाल पहाडको पहिलो पार्टी बन्ने बताउनुभयो।

फोरम लोकतान्त्रिकका नेताले दिएको जानकारीअनुसार नेपाली कांग्रेसबाट पनि केही थारू नेताहरू गच्छदार नेतृत्वको पार्टीमा सहभागी हुनेबारेमा छलफल भइरहेको छ। यता नेकपा एमालेका केही मधेसी नेताहरूसँग पनि छलफल भइरहेको बताउनुभयो।