जोशीलाई प्रमुख र लामिछानेलाई उपप्रमुख सिफारिस


पर्वत, (नेस)
नेपाली कांग्रेस, कुस्मा नगर समितिले पर्वतको कुस्मा नगरपालिकाको प्रमुख र उपप्रमुख पदका उमेदवार सिफारिस गरेको छ।

कुस्मा नगर समितिको बुधबार बसेको बैठकले नगरपालिकाको प्रमुख पदमा नगर संयोजक रामचन्द्र जोशी र उपप्रमुखमा महाधिवेशन प्रतिनिधि सीता काफ्ले लामिछानेलाई सिफारिस गरेको हो।

बैठकले जोशीलाई प्रमुख र लामिछानेलाई उपप्रमुखमा सर्वसम्मत निर्णय गरी सिफारिस गरिएको कोषाध्यक्ष शिवराज शर्माले जानकारी दिए। बैठकमा अन्य आकांक्षी नदेखिएका कारण सर्वसम्मतरूपमा दुई जनाको नाम सिफारिस गरिएको बताइएको छ।

कुस्मा नगरपालिकामा नेपाली कांग्रेसबाट प्रमुख र उपप्रमुखमा ठूलै संख्यामा आकांक्षीहरू रहेका छन्। नगर समितिले भने प्रमुख र उपप्रमुखमा एकएक जनाको नाम मात्रै सिफारिस गरेको छ। कांग्रेसभित्र लोकप्रिय र बलियो दाबेदारका रूपमा रहेका जोशीलाई जन्मदिनकै अवसरमा नगर समितिले उम्मेदवारका रूपमा सिफारिस गरेको छ।

नगरसमितिले वैशाख ७ गतेभित्र क्षेत्रीय समितिमा उम्मेदवारको नाम सिफारिस गर्नुपर्ने व्यवस्था पार्टीले गरेको छ। वडा कमिटीहरूबाट सिफारिस भएर आएपछि नगरसमितिले उम्मेदवारहरूको सिफारिस गरेको भए उपयुक्त हुने भन्दै निर्णयमा असन्तुष्टिसमेत देखिएको छ। कांग्रेसका युवा नेता मोहन आचार्यले वडाको सिफारिस आएपछि निर्णय गर्नुपर्नेमा हतारमा निर्णय भएको बताए।

‘जोशी आफै संयोजक रहेको समितिले हतारमा आफैलाई मात्रै निर्णय गराउनु हुन्थेन। अन्य आकांक्षीहरूको नाम पनि क्षेत्रीय समितिमा पठाउनुपथ्र्यो। –उनले बताए। कुस्मा नगरपालिका वडा न ४ को वडा समितिले भने रामचन्द्र जोशी र मोहन आचार्यको नाम प्रमुखमा सिफारिस गरेको छ।

नगर समितिले सिफारिस गरेको नाममा थपघट गरेर क्षेत्रीय समितिले उम्मेदवारको आफै निर्णय गर्न सक्नेछ भने विवाद भएमा जिल्ला समितिमा सिफारिस गर्ने व्यवस्था छ। उम्मेदवारको अन्तिम निर्णय भने वैशाख दोस्रो साता मात्रै हुनेछ।