“मधेसको माग सम्बोधन नगरी निर्वाचन नगर”


नेपाल समाचारपत्र
काठमाडौं
तराई–मधेसका विभिन्न जातीय संगठनहरूले मधेसको माग सम्बोधन नगरी निर्वाचन गर्न नहुने धारणा व्यक्त गरेका छन्।

बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा सहभागी वक्ताहरूले उक्त कुरा बताएका हुन्।

मधेसी जातीय समन्वय समाजले एक कार्यक्रम आयोजना गरी मधेसी जनताको मागलाई वेवास्ता गरी स्थानीय तहको निर्वाचन गराउन नहुने बताएका छन्।

समाजले सरकारले जवरजस्ती निर्वाचन गराउन खोजेको र जवरजस्ती निर्वाचन गर्न खोज्नु भनेको राजविराज घटनाको पुनरावृत्तिको षड्यन्त्र हो भन्दै मधेसी जनताको भावना बुझी समन्वय गरेर मात्रै निर्वाचन गर्नुपर्ने सुझाव दिएका छन्।

समाजले स्थानीय तहको निर्वाचन मधेसी मोर्चाले बहिस्कार गर्ने भएकाले असन्तुष्ट मधेसी मोर्चासँग आवश्यक छलफल र समन्वय गरी मधेसी जनतालाई अधिकार सम्पन्न गराउँदै निर्वाचनमा जानुपर्ने स्पष्ट पनि पारेको छ।

कार्यक्रममा मधेस जाति समन्वय समितिका प्रतिनिधि भुवनेश्वर यादवले संविधान संशोधन नगरिकन निर्वाचन गर्न नहुने बताए। उनले भने– ‘संविधान संशोधन नगरिकन चुनावमा जानु भनेको मधेसी जनतालाई मार्नु हो, त्यसैले चुनाव हुनुअघि नै संशोधन प्रस्ताव पारित गर्नुपर्छ, त्यसैले सरकार गम्भीर बन्नुपर्छ। समितिका अर्का प्रतिनिधि डा. अशोक महासेठले मधेसको समस्या भनेको देशकै समस्या भएकाले समस्या समाधानका लागि सबैले सकारात्मक पहल गुर्नपर्ने जिकिर गरे।