माओवादी केन्द्रले समीकरण नगर्ने


नेपाल समाचारपत्र
हेटौंडा
नेकपा माओवादी केन्द्रका तर्फबाट हेटौंडा उपमहानगरपालिका मेयर उम्मेदवार बलराम बलले स्थानीय निर्वाचनमा माओवादी केन्द्रको अन्य दलसँग समीकरण हुने सम्भावना हालसम्म नरहेको बताएका छन्।

उम्मेदवार चयनपछि मंगलबार पहिलोपटक हेटौंडामा पत्रकार सम्मेलन गर्दै बलले आफूहरूलाई ‘अलाइन्स का नाममा भड्काउन खोजिएको आरोप लगाए। उनले भने– माओवादी केन्द्र आफ्ना कार्यकर्ताको बलमा निर्वाचन जित्छ, हामी शत्प्रतिशत विजयी हुने लक्ष्यसाथ मैदानमा छौं। तर, कहाँबाट हामी कोसँग मिल्ने भन्ने भ्रम छर्न खोजिएको छ, यो गलत हो। नेकपा माओवादी केन्द्रले आफ्नो एजेण्डा स्थापित गर्न पनि कुनै पार्टीसँग ‘अलाइन्स नहुने बलले बताए।

उनले भने– ‘माओवादी केन्द्रले आफ्नो एजेन्डा स्थापित गर्न १९ वर्षपछि निर्वाचनको नेतृत्व गर्दैछ। यस्तो समयमा हामी हाम्रो एजेण्डालाई कसरी भुल्न सक्छौ, बरु पार्टी हारोस् तर देशले जित्नु पर्दछ।

बलले २५ गतेभित्र आफूहरूले नगरका सबै उम्मेदवार घोषणा गरिसक्ने र घोषणापत्रको तयारीसमेत गरिएको बताए। माओवादी केन्द्रको एजेण्डामा निर्वाचन हुन लागेको निर्वाचनमा माओवादी केन्द्रलाई विजयी बनाउन नगरका मतदातासँग उनले आग्रह गरे।

माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य तथा मकवानपुर संयोजक प्रेमबहादुर पुलामीले माओवादी केन्द्रको नेतृत्वमा हुन लागेको निर्वाचन पूर्णरूपमा सफल हुनेमा विश्वास ब्यक्त गरे। मकवानपुरको सवालमा यहाँका दलहरूको एकताले समेत निर्वाचनको वातावरण बनेको उनको भनाइ छ।