धुलिखेलमा हुमागार्इं, व्याञ्जु र थापाको प्रतिस्पर्धा हुने


मोतीराम तिमल्सिना, काभ्रे

स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा दलहरुले आन्तरिकरूपमा उम्मेदवारहरु तय गर्न जुटेका छन्। व्यक्तिगतरूपमा उम्मेदवारहरु मतदाताको घरदैलामो पुग्न थालिसकेका छन्। १३ वटा स्थानीय तह रहेको काभ्रेपलाञ्चोकमा ६ नगरपालिका र ७ गाउँपालिका रहेको सदरमुकामसमेत रहेको धुलिखेल नगरपालिकामा निर्वाचन सरगर्मी ह्वात्तै बढेको छ।

एमालेका जिल्ला उपाध्यक्षसमेत रहेका धुलिखेल नगरपालिकामा २०५४ सालमा उपप्रमुखमा निर्वाचित नेपाल नगरपालिका संघका उपाध्यक्ष अशोक व्याञ्जु आगामी निर्वाचनका लागि एमालेबाट प्रमुख पदमा उठ्ने तयारी गरेका छन्। एमाले काभ्रेले उपाध्यक्ष व्याञ्जुको हकमा अर्काे व्यक्ति नउठाउने तयारी गरेको छ।
लामो समयदेखि जनप्रतिनिधिकै रूपमा कार्यरत व्याञ्जु देशका सबै नगरपालिकाको विकास र समृद्धिका लागि देश–विदेशका भ्रमणसमेत गरेका छन्। नागरिकलाई अधिकार प्रत्यायोजन गराउने र स्थानीय तह बलियो हुँदा मात्रै लोकतन्त्र बलियो हुने मान्यता राख्दै आएका उनी २०५४ को निर्वाचनमा देशभरबाट कान्छो उपप्रमुख हुँदै नगरपालिका संघको निर्वाचनमा समेत उपाध्यक्ष भएका थिए।
धुलिखेल नगरपालिकामा पातलेखेत, काभ्रे नित्यचण्डेश्वरी, रविओपी र देवीटारको आधा, शंखु र शारदाबतासेको आधा–आधा भाग समावेश छ। युवा जोश भएका व्याञ्जु पछिल्लो समय प्रखर र स्पष्टवक्ताका रूपमा कार्यकर्ता र नागरिकहरु माझ लोकप्रिय मानिन्छन्। नगरका सबै भू–भागको विकासपछि मात्रै नगर समृद्ध नाउने सोच भएका व्याञ्जुले धुलिखेललाई खानेपानी, सरसफाइ, शिक्षा, स्वास्थ्य, पर्यटन तथा अन्य क्षेत्रबाट सम्वृद्ध बनाउने योजना अगाडि सारेक छन्।

उपप्रमुख हुँदा नगरपालिकाकै सहयोगमा शुरु भएको धुलिखेल सामुदायिक अस्पताल, धुलिखेलको पर्यटन र काठमाडौं विश्वविद्यालयको गुणस्ततर वृद्धिका लागि समेत महत्त्वपूर्ण योगदान पुर्याएका छन्। एमालेले भने उपप्रमुख विमला शर्मालाई उठाउने चर्चा छ। महिलालाई सहभागिताका हिसाबले समेट्न सक्ने क्षमतावान्् नेतृका रूपमा शर्मालाई हेरिएको छ। नयाँ संविधानले दिएको अधिकारअनुसार उपप्रमुखका अधिकार धेरै भएकाले पनि एमालेले यो पटक शर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको हो।

त्यस्तै नेपाली कांग्रेसबाट प्रमुख पदमा उम्मेदवार हुन नेपाल बार एसोसिएसन काभ्रे शाखाका पूर्वअध्यक्ष, नेपाली कांग्रेसका क्षेत्रीय सभापतिसमेत रहेका रमेश हुमागाईं अग्रपंक्तिमा छन्। उनलाई रोक्न धुलिखेलकै विमल व्याञ्जु लागे पनि पूर्वजिल्ला सभापति शिव हुमागाईंका निकट रमेश हुमागाईंले टिकट पाउने कुरा निश्चित भएको छ। धुलिखेल सदरमुकामबाट एमालेले अशोक व्याञ्जुलाई उठाउने निश्चित भएपछि कांग्रेसले बजारबाहिरका हुमागाईंलाई उठाउने निश्चित भएको हो। दुई पटक क्षेत्रीय सभापति भएका हुमागार्इं नेपाल बार एसोसिएसनबाट भर्खरै बाहिरिएका हुन्। अधिकांश कार्यकर्ताले उम्मेदवार बनाउँदा समीकरण मिलाउनुपर्ने दबाब दिएका छन्। युवाहरुलाई स्थान दिन आनाकानी गरेको भन्दै केही युवाहरुले विद्रोहको तयारीसमेत गरेका छन्। जितकृष्ण घिनाङ्जुसमेतको चर्चा चलाएपछि केही युवाहरुले रमेश हुमागार्इंलाई प्रमुख र बजारभित्रको व्यक्तिबाट उपप्रमुख बनाउनुपर्ने सुझाब दिएका छन्।

त्यस्तै नेकपा माओवादी केन्द्रले भने पार्टी अध्यक्ष रहेका पृथ्वी थापालाई प्रमुख पदमा उठाउने तयारी गरेको छ। एमालेमा दुई पटक नगर कमिटी सचिव भई माओवादीमा प्रवेश गरेका नेता हुन्। धुलिखेलमा माओवादीका केन्द्रदेखि गाउँ तहसम्मका नेताहरुले आकांक्षा देखाएको भए पनि थापाको पकड बलियो छ। पार्टीभित्र उनको पकड भएकाले टिकटको सम्भावना पनि उनकै भएको चर्चा पार्टीभित्र शुरु भएको छ। अन्य साना पार्टीहरुले प्रमुख र उपप्रमुख पदमा भन्दा पनि साना पदहरुमा तालमेलको तयारी गरेका छन्। नेकपा माले, राप्रपालगायतले उम्मेदवारीको तयारी गरेका छन्।