नेपाली पर्यटनको अब विश्वभरी प्रचार प्रसार

0
Shares

काठमाडौं (नेस)
नेपालको पर्यटन क्षेत्रको विकासका लागि पहिलोपटक अन्तर्राष्ट्रिय सञ्चार माध्यममार्फत् प्रचारप्रसार हुने भएको छ। नेपाल पर्यटन बोर्डले पर्यटन क्षेत्रको विश्व बजारमा प्रवद्र्धन गर्नका लागि विश्वका तीन ठूला सञ्चार माध्यमसँग ‘गन्तव्य नेपाल प्रवद्र्धन साझेदारी सम्झौता’ गरेको हो।

पर्यटन क्षेत्रमार्फत् मुलुकको आर्थिक विकासका लागि भन्दै बोर्डले बीबीसी, रोयटर्स र ट्राभल सम्बन्धी विश्वकै ठूलो कम्पनी ट्रिप एड्भाइजरसँग सम्झौता गरेको हो। अब यी सञ्चार माध्यमले नेपालको पर्यटन क्षेत्रसँग सम्बन्धित सामग्रीहरूको प्रकाशन तथा प्रसारण गर्नेछन्। प्रवद्र्धन साझेदारी सहमतिपत्रमा बोर्डका तर्फबाट पर्यटन बोर्डका कार्यकारी निर्देशक दीपकराज जोशी, बीबीसीका दक्षिण एसिया निर्देशक विशाल भट्टनाकर, ट्रिप एड्भाइजरका दक्षिण एसिया निर्देशक भरतनाथ पाल तथा रोयटर्सका दक्षिण एसिया निर्देशक एसएन बादरीले हस्ताक्षर गर्नुभयो।

विश्वव्यापी रूपमा नेपाली पर्यटन क्षेत्रको प्रचारप्रसार गर्न विश्वका ठूला र लोकप्रिय सञ्चारमाध्यमसँग सम्झौता गरेको नेपाल पर्यटन बोर्डका कार्यकारी निर्देशक दीपकराज जोशीले बताउनुभयो। भूकम्प र नाकाबन्दीले सुस्ताएको पर्यटन व्यवसायलाई उकास्नका लागि बोर्डले उक्त कदम चालेको निर्देशक जोशीले बताउनुभयो।

यस सम्झौतापछि विश्वका ४ करोड ५० लाखभन्दा बढी घरमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा जोडिएको बीबीसी विश्व सेवाले हरेक दिन ६ देखि १२ मिनेटसम्मको भिडियो प्रसारण गर्नेछ। त्यस्तै १५ अबर्वभन्दा बढी मानिसले हेर्ने बीबीसी अनलाइन पोर्टलमा पनि नेपालको पर्यटन सम्बन्धी सामग्रीहरू हेर्न पाईने छ। समाचार एजेन्सी रोयटर्सले भने नेपालमा आफ्नै प्रतिनिधिमार्फत् विभिन्न सामग्री संकलन गरेर प्रकाशन, प्रसारण र वितरण गर्नेछ।

सहमतिपत्रका अनुसार बोर्डले ट्रिप एड्भाइजरलाई एक वर्षका लागि २ लाख ५० हजार अमेरिकी डलर, बीबीसीलाई ६ महिना लागि ६ लाख ५० हजार अमेरिकी डलर, रोयटर्सलाई तीन महिनाका लागि ७५ हजार अमेरिकी डलर बराबरको सम्झौता भएको हो।

ट्राभलसँग सम्बन्धित चर्चित अनलाईन पोर्टल ट्रिप एडभाइजरले मंगलबारबाट, बीबीसी विश्व सेवाले दुई हप्ताभित्र र रोयटर्सले आगामी मे १ तारिखदेखि नेपालको पर्यटनसँग सम्बन्धित र पर्यटन बोर्डले तयार पारेका विभिन्न सामग्रीहरूको प्रकाशन तथा प्रसारण गर्नेछन्।