आगलागिबाट २ करोड बढीको क्षति



विमल विष्ट, डोटी । सुदूरपश्चिमको क्षत्रीय सदरमुकाम दिपायलको पिपल्लामा आईतबार भएको आगलागिका कारण साढे २ करोड रुपियाँ भन्दा बढीको क्षति भएको छ ।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख दिल्लीराज विष्टले दिएको जानकारी अनुसार उक्त आगलागिका कारण २ करोड ६१ लाख १८ हजार ४ सय १८ रुपियाँको नोक्सानी भएको लगत निस्किएको छ ।

उहाँले भन्नुभयो–‘ब्यापारीको मात्रै यति ठुलो नोक्सानी भएको छ, सरकारी तथा केही नीजि बाईकहरू पनि आगोले खरानी भएका छन्। तिन लगत निकाल्दा क्षतीको विवरण अझै बढ्न सक्छ ।’ आईतबार जेबी आईल स्टोरमा टयांकरबाट पेट्रोल खन्याउने बेला आगलागि हुँदा पेट्रोल पम्पसहित अन्य ३ वटा पसल जलेर नष्ट भएका छन् ।

ना. २ ख ४५७९ नम्बरको पेट्रोल भरिएको टयांकरसहित पेट्रोलपम्प नजिकै रहेको डेभिड सर्भिस प्वाईन्टले बेच्न राखेका एक स्कुटी, चार वटा अनटेस्ट मोटरसाईकल, मर्मतका लागि ग्यारेजमा राखिएका एक निजी कार र अर्को डिभिजन सडक कार्यालय कुल्पातेको से. १ ब २५७ नम्बरको मोटरसाईकल आधा जलेका छन् भने तेल हाल्न आएको धनबहादुर विष्टको से. ३ प ४५०० नम्बरको पल्सर मोटरसाईकल जलेर खरानी भएको छ ।

आगलागिबाट भएको क्षतिको डोटीका राजनैतिक दलका नेता तथा अन्य बिभिन्न संघ संस्थाहरूले गहिरो दुःख ब्यक्त गरेका छन् । आगलागिबाट यहाँको लेण्डलाईन तथा ईन्टरनेट सेवा पूर्णरूपमा बन्द भएको छ ।

ईन्टरनेट सेवा तथा लेण्डलाईन नहुँदा सोमबार दिनभर यहाँको बैंकिङ कारोबार पनि हुन सकेन । त्यस्तै पिपल्लामा भएको आगलागिका कारण क्षति भएकाहरूलाई यथासक्य राहत दिन सरकारले पहल चाल्नुपर्ने डोटी उद्योग बाणिज्य संघका निर्बतमान अध्यक्ष बिरेन्द्र शाहले माग गरेका छन् ।

उहाँले आगलागि हुँदा दमकल नहुनु नगरपालिकाको ठुलो लार्पवाही भएकाले सम्बन्धित निकायले नगरपालिकालाई स्पष्टिकरण सोधी कारवाही अगाडी बढाउनुपर्ने बताउनुभयो।

ब्यापारीले नगरपालिकालाई कर तिनुपर्ने तर ब्यापारीको पसलमा आगलागि भई करोडौको नोक्सान हुँदासम्म नगरपालिकाले दमकलसम्म ठिक अवस्थामा राख्न नसक्नु ठुलो लापरबाही भएकाले ब्यापारीले पनि नगरपालिकालाई कर तिर्न नहुने बताए ।

त्यस्तै ब्यापारीहरू पनि नगरपालिकाले दमकल नपठाएकोमा आक्रोसित भएका छन् । यो मात्रै होईन यस अघि कयौं पटक दिपायल तथा राजपुरमा भएको आगलागिमा पनि दिपायल सिलगढी नगरपालिकाको दमकल आगो निभाउन नआएको भन्दै ब्यापारीहरू झन् आक्रोसित बनेका छन् ।

नेपाल टेिलकम राजपुरस्थित कार्यालयले आगलागिका कारण क्षति भएको लेण्डलाईनको तारहरू मर्मत गरिरहेको छ ।
मर्मतमा संलग्न एकजना कर्मचारीका अनुसार ईन्टरनेट सेवा तथा पिपल्ला र दिपायलको लेण्डलाईन सेवा सुचारु गर्न अझै केही दिन लाग्ने छ । आगलागिले ठुलो धनजनको क्षति भएकाले सोमबार पिपल्ला बजार करिब सुनसान झै बनेको थियो ।

त्यस्तै सो पट्रोल पम्पबाट बिगतदेखि सरकारी कार्यालयहरूले कुपन सिस्टमबाट तेल हाल्ने गरेकाले अहिले पम्प आगलागिमा परी ध्वस्त भएपछि तेल हाल्न पनि समस्या भईरहेको छ ।

सरकारी कार्यालयहरूले तेल हाल्नका लागि नगदी कारोबार गर्नुपर्ने अवस्था आएको कतिपय कार्यालय प्रमुखहरू बताउछन् । उनीहरू भन्छन्–‘बिगत देखि कुपन सिस्टमबाट तेल हालिन्थ्यो र महिनाको एकपल्ट पेमेन्ट हुन्थ्यो, पम्पमा क्षति भयो की अर्को पम्पमा तेल हाल्न जाँदा नगदी कारोबार गर्नु परेकाले समस्या खडा भएको छ ।’

प्रतिक्रिया दिनुहोस्