नेपाल उद्योग वाणिज्य महासंघमा चुनावी चहलपहल गोल्छा प्यानलको उम्मेदवारी दर्ता

0
Shares

नेपाल समाचारपत्र
काठमाडौं
नेपाल उद्योग वाणिज्य महासंघको आगामी महाधिवेसनमा वरिष्ठ उपाध्यक्षमा शेखर गोल्छाको प्यानलले उम्मेदवारी दर्ता गराएको छ। महासंघको कार्यालयमा आइतबार गोल्छा समूहले वरिष्ठ उपाध्यक्षसहित तीन उपाध्यक्ष, कोषाध्यक्ष र सदस्यहरूको प्यानलले मनोनयन दर्ता गरेको हो।

वरिष्ठ उपाध्यक्षका उम्मेदवार गोल्छाको प्यानलबाट वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ, एसोसिएटमा चन्द्र ढकाल र जिल्ला नगर उपाध्यक्षमा दिनेश श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन्। गोल्छाको प्यानलबाट कोषाध्यक्षमा ज्ञानेन्द्रलाल प्रधानको उम्मेदवारी रहेको छ।

चैत २९ गतेदेखि हुने निर्वाभनका लागि गोल्छा प्यानललाई वर्तमान अध्यक्ष पशुपति मुरारका, भावी अध्यक्ष भवानी राणा, पूर्वअध्यक्ष चण्डीराज ढकाललगायतको समर्थन रहेको छ। गोल्छा समूहले चैत ६ गते बुटवलमा उम्मेदवारी घोषणा गरेको थियो। यसैबीच स्वतन्त्रबाट एसोसिएट उपाध्यक्षमा उम्मेदवारी दिने बताउँदै आएका सौरभ ज्योतिले उम्मेदवारी नदिने भएका छन्। ज्योतिले महासंघलाई एकताबद्ध गर्दै लैजाने भन्दै उनले गोल्छा प्यानलको उम्मेदवार चन्द्र ढकाललाई समर्थन गर्दै सोही प्यानलबाट कार्यसमिति सदस्यका लागि उम्मेदवारी दिएका छन्।

प्रधान प्यानलको उमेदवारी घोषणा
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोरकुमार प्रधानले सोमबार वरिष्ठ उपाध्यक्षका लागि उमेदवारी घोषणा गरेका छन्। राजधानीमा एक कार्यक्रम आयोजना गरी प्रधानले वरिष्ठ उपाध्यक्षको उम्मेदवारी घोषणा गरेका हुन्।
प्रधानको प्यानलमा वस्तुगततर्फ शंकरप्रसाद पाण्डे उम्मेदवार रहेका छन् भने जिल्ला तथा नगरतर्फको उपाध्यक्षमा प्रमोद श्रेष्ठको उम्मेदवारी रहेको छ।

एसोसिएट उपाध्यक्षमा भने उम्मेदवारी नदिने बताइएको छ। सौरभ ज्योतिको समर्थन र प्रधान समूहले उम्मेदवारी नदिने भएपछि चन्द्रप्रसाद ढकाललाई र्निविरोध हुने करिब पक्का रहेको छ। प्रधान समूहले सोमबार उम्मेदवारी दर्ता गर्ने बताइएको छ।

यसैबीच अनुप मल्ल स्वतन्त्ररूपमा वस्तुगत उपाध्यक्षका रूपमा आकांक्षी बनेका छन्। उनी हाल महासंघको निर्यात प्रवद्र्धक समितिका सभापति हुन्। बलियो उम्मेदवारका रूपमा रहेका मल्ललाई दुईवटै प्यानलले आफ्नो प्यानलमा ल्याएर उचित स्थान दिने भन्दै उपाध्यक्षमा उम्मेदवारी नदिन आग्रह गरेका छन्। महासंघको विधानमा वरिष्ठ उपाध्यक्ष अर्को कार्यकालमा स्वतः अध्यक्ष हुने व्यवस्था रहेको छ। महासंघको वर्तमान वरिष्ठ उपाध्यक्ष भवानी राणा रहेकी छिन्।

आसन्न अधिवेसनपश्चात उनी स्वतः अध्यक्ष हुने छिन्। अर्कोपटकका अध्यक्षका लागि वरिष्ठ उपाध्यक्षमा प्रतिस्पर्धा गर्नुपर्ने विधानमा व्यवस्था छ। महासंघमा वरिष्ठ उपाध्यक्षमा, वस्तुगत उपाध्यक्ष, जिल्ला नगर उपाध्यक्षमा, एसोसिएट उपाध्यक्षसहित जिल्ला उद्योग वाणिज्य संघ समूहको खुल्लातर्फ १८ जना, सात प्रदेशबाट एक⁄एक, वस्तुगततर्फ १४, एसोसिएट १९, संस्थापक सदस्य १ र द्विराष्ट्रिय उद्योग बाणिज्य संघको प्रतिनिधि १ जना गरी कुल ६४ पदको लागि निर्वाचन हुने छ भने कोषध्यक्षलाई कार्यसमितिले चयन गर्ने छ।

त्यस्तै जिल्ला उद्योग बाणिज्य संघबाट १ सय ४, वस्तुगतबाट १ सय ९९, द्विराष्ट्रिय उद्योग बाणिज्य संघको तर्फबाट १२, उद्योग प्रतिष्ठानबाट करिब आठ सय ५० गरी करिब ११ सय ६५ मतदाता प्रतिनिधि रहनेछन्।