दिपायलमा भीषण आगलागी



विमल विष्ट, डोटी
क्षेत्रीय सदरमुकाम दिपायलको पिपल्ला बजारमा आइतबार भीषण आगलागी भएको छ। जेबी आयल स्टोरमा ट्यांकरबाट पेट्रोल पम्पमा पेट्रोल खन्याउने बेला एक्कासि आगो सल्कँदा पेट्रोलपम्पसहित तीन पसल जलेर नष्ट भएका छन्।

ना२ख ४५७९ नम्बरको पेट्रोल भरिएको ट्यांकर र आठवटा मोटरसाइकल पनि जलेर नष्ट भएका छन्। पेट्रोलपम्प नजिकै रहेको डेभिड सर्भिस प्वाइन्टले बेच्न राखेका एक स्कुटीसहित चारवटा अनटेस्ट मोटरसाइकल, मर्मतका लागि ग्यारेजमा राखिएका से३प ४५०० तथा डिभिजन सडकको से१ब २५७, सागर भट्टको से१प ७७४ नम्बरको मोटरसाइकल जलेका छन्। पिपल्ला बजारमा रहेको जेभी आयल स्टोरमा आइतबार दिउँसो १ बजेर २० मिनेटमा आगो लागेको थियो। पेट्रोल खन्याइरहेका पम्प सञ्चालक कर्ण भण्डारी घाइते छन्।

सभासद् कल्पना सोवको निवाससहितको सुनचाँदी पसल पनि जलेर नष्ट भएको छ। सुनचाँदी पसलमा राखिएका दुई वटा मोटरसाइकल पनि जलेर नष्ट भएका छन्। सुनचाँदी पसलमा रहेका गरगहना आगलागीबाट नष्ट भएको छ। नेपाली सेना, नेपाल प्रहरी, स्थानीयबासीको प्रयासमा आगो ३ घण्टापछि नियन्त्रणमा आएको थियो। सुरक्षा निकायले पेट्रोल पम्पसँगै जोडिएका सभासद् सोव र मञ्जु खड्काको चिया पसल आगलागीबाट जोगाउन नसके पनि नजिकै रहेको राष्ट्रिय वाणिज्य बैंक दीपायल शाखाको कार्यालय रहेको पक्की भवन भने बचाउन सफल भएको जनाएको छ। आगलागीबाट १ करोडभन्दा बढीको क्षति भएको अनुमान गरिएको छ।

ट्यांकर र पेट्रोल पम्पमा राखिएका ड्रम र जर्किनमा इन्धन भएकाले आगो नियन्त्रण गर्न कठिनाइ भएको थियो। ड्रम र जर्किनहरू आगो लागेर पड्कँदा दीपायलको पिपल्ला बजारको माहोल आतंकित बनेको थियो। डोटीमा भएको दमकल बिग्रेको भन्दै छिमेकी जिल्ला डडेल्धुराबाट दमकल मगाइएको थियो। समयमै दमकल नआउँदा आगलागी नियन्त्रण हुन नसकेको भन्दै स्थानीयबासी आक्रोसित बनेका थिए।

सुदूरपश्चिम क्षेत्रीय प्रशासक सुशील ढुंगानाले डोटीको दमकल ठीक अवस्थामा नराख्नुका कारणबारे स्पष्टीकरण सोधिने बताउनुभयो। उहाँले भन्नुभयो– ‘यो विषयलाई मैले गम्भीररूपमा लिएको छु, दमकल दुरुस्त अवस्थामा किन राखिएन सबैलाई स्पष्टीकरण सोधेर कारबाही गर्छु।’

दीपायल सिलगढी नगरपालिकाको दमकल १ वर्षदेखि मर्मत गर्न नसकेर थन्किएको थियो। दीपायल सिलगढी नगरपालिकाका कार्यकारी अधिकृत तुलसीप्रसाद आचार्यले चाइनिज कम्पनीको दमकल रहेकाले त्यसका पार्टपुर्जा नेपालमा नपाउँदा मर्मत गर्न नसकिएको बताउनुभयो।

‘हामीले दमकलको अवस्थाबारे प्रहरी, प्रशासनलाई यसअघि नै जानकारी गराइसकेका थियौं’, कार्यकारी अधिकृत आचार्यले भन्नुभयो– ‘नयाँ दमकल ल्याउन अर्थ मन्त्रालयबाट बजेट स्वीकृत भएर टेन्डर आह्वान गरिसकेका छौं।’

प्रतिक्रिया दिनुहोस्